शान्ति सिग्देल
लगाएर सारी चिटिक्कै परेकी
सयौँ फूललेझैँ छ शोभा छरेकी
प्रभा चाँदनी वा खुलेझैँ बिहानी
तिमी भित्र छन् लाख राम्रा कहानी।
हँसाएर बोल्ने सुधा प्रेम घोल्ने
बडो दिव्य बानी कलाकुञ्ज खोल्ने
तिमी स्वर्गकी अप्सरातुल्य नानी
तिमी भित्र छन् लाख राम्रा कहानी।
सुशिक्षा लिएकी तिमी सौम्य नारी
त्यसैले बनेकी सबैकी पियारी
तिमी प्रेम पाला उज्याली घरानी
तिमी भित्र छन् लाख राम्रा कहानी।
भए बिघ्न बाधा हटाएर आऊ
प्रिया यो मनैमा अटाएर आऊ
रमाई बसौँला हितैषी परानी
तिमी भित्र छन् लाख राम्रा कहानी।
छ हावा चलेको र पानी बहेको
नदीझैँ छ तिम्रो जवानी बहेको
झझल्को छ तिम्रै दिवा रात सानी
तिमी भित्र छन् लाख राम्रा कहानी।