लता के. सी.
तीनकुने , काठमाडौं ।
साथीहरूको जमातमा बसेर ऊ भन्दै थियो , “सबु त एक नम्बरको घमण्डी हो नि ! तिमीहरूले उसँग सङ्गत नगर्नू है !”
केहीले पत्याएर कान समात्दै भने ,” म त उसको अनुहार नि हेर्दिनँ ।”
केहीले खुसुरफुसुर गरे , ” त्यस्तो असल मानिसको यसले किन खेदो खनेको होला ? उसले सुन्यो भने उसको मानसिकता कस्तो होला ? ”
अर्कोले सही थाप्यो ,” यसरी समूहमा बसेर अरूको छवि बिगार्नु त सोह्रै आना गलत हो । ”
विश्वास र अविश्वासको खाडल खनिँदै थियो । एकआपसमा तर्क वितर्क चलमलाउँदै थियो । सबु हातमा मिठाई बोकेर आइपुग्यो । “मेरो आज जन्मदिन ! ” भनेर सबैलाई बाढन थाल्यो । सबैले मुण्टो बटारे । उसलाई नरमाइलो लाग्यो । उसले सोध्यो , ” माया र श्रद्धाको प्रसाद किन नलिएको ? ”
कोही बोलेनन् । सबुलाई त्यहाँ बस्न मन लागेन । ऊ पुस्तकालय गयो । साथीहरूको व्यबहारले आफ्नो दुखेको मन बहलाउन किताबमा ध्यान दियो । ” आफू भलो त जगत भलो ! ” लेखिएको वाक्य पढदा ऊ मुसुक्क हाँस्यो ।
उत्ति नै बेला बाहिर कसैले भनेको सुन्यो ,” सबुको खुट्टा तान्न पो उसले हामीलाई भड्काएको रहेछ । “