गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ
घामपानी घमाइलो
पानी परेपछि
झुल्के घाममा शीतको थोपा
पातमा परेपछि ।
परी हुन् कि अप्सरा
सुन्दरी यी धरा
जताततै मन रम्ने
आहा! हराभरा ।
ढकमक्क फूल फुल्छ
बागवाटिका भरि
लटरम्म फल बोटमा
अमृत खाए सरी।
भमराले गीत गाउँदा
पुतली कम्मर भाँच्छ
डालीडाली डुलेर
मौरी प्रीति साँच्छ।
भुइँमा छ फूलबुट्टे
गलैँचाको खात
बुझ्न सके स्वर्ग यहीँ छ
प्रकृतिको बात ।
छङ्छङाउँदै गीत गाउँछ
अटुट बनी झर्ना
घोरलले कत्थक नाच्दा
खुसी हुन्छ अर्ना।
अनौठो छ संयोजन
वर्षा लागेपछि
ब्युँझिएर सारा संसार
फूर्ति जागेपछि ।