“वर्षै भरि कामै काम”

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90


हरि तिम्लसिना

वैशाख यो नववर्ष नयाँ काम थाल्नु पर्यो
जेठ लाग्यो नयाँ खेती बिउ राखी हाल्नु पर्यो।

असार साउन मकै भित्र्याई धान र कोदो खेती
गोडमेल भदौ भरि झारपात फाल्नु पर्यो।

असौजमा दशैँ अनि कार्तिकको तिहारमा
खोज मेल गरेर नि जहान बच्चा पाल्नु पर्यो।

मंसिरको महिना त्यो भित्र्याउन धान कोदो
पुषमा टौवा हाली कोदो कुटी चाल्नु पऱ्यो।

माघ भरि मल बोक्न अनि खनजोत गर्न
पतिङ्गर फोहर सबै जम्मा गरी बाल्नु पऱ्यो।

फाल्गुनमा मकै छर्न भ्याई नभ्याई चटारोले
चैत भरि मकै गोड्न बेडाउन उखाल्नु पऱ्यो।

बर्षै भरि ब्यस्त हुनु किसानको कर्म लेखा
गौरव गरी मेहनतले पसिना पगाल्नु पऱ्यो।