
होमनाथ घिमिरे
बोल्छे आज चरी बसी नजिकमा रुन्छे कठै बर्बर ।
सोध्छे खै घरबास यो भुवनमा मेरो कहाँ हो घर ।।
ढाल्यौ वृक्ष सबै रहेन बिरुवा आगो सँगै ती जले ।
पानी भित्र पुगे ढले अब सबै माटो सँगै ती गले ।।
सारा मानिसका यहाँ महल छन् हाम्रो रहेनन् कतै ।
बन्दैछन् कसरी ठुला घर तथा निर्माण बाटो सबै।।
बाँच्ने हो कसरी बसेर वनमा वृक्षादि छैनन् थर ।
छैनन् ठाउँ कतै न फूल लहरा हाम्रा कहाँ खै घर।।
पानी छैन कुवा मुहान वनका खोला हराए कता ।
प्राणी जीव विनाश मानिस गरे खाए हराए यता ।।
पैह्रा छन् अहिले पहाड गिरिमा भूकम्प फाट्यो बन ।
सुक्खा याम अझै बढ्यो अवनिमा सन्तापको जीवन ।।
हावामा छरियो विषाक्त कण झन् रोगी बन्यो मानिस ।
खेती हुन्न कतै रसायन बढ्यो पीडा खडेरीसित ।।
मान्छे मात्र बढ्यो घट्यो प्रकृतिका प्राणी तथा जङ्गल ।
होला खै कसरी अहो अवनिमा सन्तोष या मङ्गल ।।
लौ ! वातावरणीय पक्ष यसरी बिग्रन्छ हाम्रो भने ।
हावा या जल मृत्तिका विष सधैँ थिग्रिन्छ हाम्रो भने।।
धर्ती हो सबको भनी मनुजले भन्ने नसोचीकन ।
होला बाच्न अझै यहाँ कठिनता बढ्ने छ संवेदना ।।





