
शान्ता तिम्सिना
भक्तपुर सिर्जनानगर
छोरो विद्यालयबाट फर्केर आउँदै थियो । मलाई देख्नासाथ उसको अनुहार पुरै बादल लागेजस्तो देखियो । “के भयो बाबू ? किन खुट्टा खोच्याएको ?” मैले सोधेँ।
“विद्यालयमा फुटबल खेल्दै थिएँ, लडेँ ।” भन्दा भन्दै भक्कानिएर रोयो।
यसो हेरेँ , घुँडामा सानो घाउ लागेको रहेछ । “नरोऊ , ठिक भैहाल्छ नि !” मैले आँसु पुछिदिँदै भनेँ । छोरो रोएको सुनेर पल्लो कोठामा भएका बाबा आत्तिदै आए । छोरालाई मायाले अगालोमा बाँधे। उनको अनुहार पुरै मलिनो भएको थियो , किनकि छोराको घुँडामा घाउ देखिएको थियो । थोरै रगत पनि देखिन्थ्यो।
उनी आत्तिए। हतार हतार ट्याक्सी बोलाएर अस्पताल लिएर गए।
यता छोरी तीन दिन देखि ऐया र आथ्था गर्दै बेडमा लम्पसार परिरहेकी थिई। छोरीको त्यो मासिक पीडालाई उनको मनले कहिल्यै छुन सकेन।
प्रत्येक महिना मासिक धर्ममा हुने उसको पीडा छोराको घुँडाको चोट भन्दा कैयौँ गुणा पिडादायी थियो।





