शान्ति

 

शुक्रराज कुँवर
बलभद्रपथ, धरान १०

कलिङको युद्धमा नर संहार मच्चाए पछि सम्राट अशोक अथाह पीडामा डुबे । मानव रगतको आहालमा उभिएका थिए । उनको आत्माले सोध्यो , ” तैँले के पाइस् ?”
उत्तर थिएन,मन अस्थिर थियो । शान्तिको खोजीमा भौँतारिँदै उनी लुम्विनी आइपुगे । भगवान बुद्धको तपस्या आरधना गरे । बुद्ध भूमिमा स्मृति स्वरुप अशोक स्तम्भ खडा गरे तरपनि उनको मन बेचैन थियो ।
उनको यस्तो अवस्था देखेर एकजना भिक्षुले सोधे ,”महाराज ! बेचैन होइबक्सन्छ ?”
” हो म युद्धको बाटो लागेँ । सबथोक गुमाएँ । मेरो शान्ति हरायो , म हारेँ । यस पवित्र भूमिबाट म केही लैजान चाहन्छु ताकि विश्व शान्तिका लागि केही गर्न सकुँ ।” सम्राट अशोकले भने ।
भिक्षुले सम्राट अशोकको हातमा केही चिज थमाइ दिए ।
“के हो यो ?” सम्राटले भने ।
” बुद्ध वाणी ” भिक्षुले संक्षिप्त उत्तर दिए ।
बुद्ध वाणी हात पर्न साथ सम्राट अशोक हर्ष विभोर भए । छोरी चारुमतीलाई लिएर संसारभरी बुद्ध धर्म प्रचार प्रशार गर्न निक्ले ।
उनको अन्तिम समय आएको थियो । उनको आत्माले फेरि सोध्यो , ” के पाइस् ?”
उनले भने, ” शान्ति ।”