
आर पी गुरागाईँ
एकजना वकिलले आफ्नो घरको पुरानो इनार एकजना शिक्षकलाई बेचे। कागजमा सहमति भयो, मूल्य बुझियो, सम्झौता टुंगियो।
तर दुई दिनपछि , वकिल हातमा छडी हल्लाउँदै शिक्षककहाँ आइपुगे । अनुहारमा चालाखी मिसिएको मुस्कान थियो ।
“गुरुवर,” उनले भने , “इनार त बेचेँ , तर पानी त मेरो हो नि ! त्यो पानी प्रयोग गर्न चाहनुहुन्छ भने छुट्टै शुल्क तिर्नु पर्छ।”
शिक्षकले एकछिन मौन भएर वकिलको आँखामा हेरे । त्यसपछि शान्त स्वरमा उत्तर दिए, “त्यो कुरा भन्नु अघि म आफैँ तपाईँलाई भेट्न आउन लागेको थिएँ । भन्नु थियो—यदि पानी तपाईँको हो भने कृपया भोलिबाट आफ्नो पानी इनारबाट निकाल्न थाल्नुस् । नत्र म इनार भाडामा दिएको मान्नेछु र भाडा तिर्नुपर्नेछ।”
वकिलको मुस्कान एकाएक हरायो । अनुहार छोपिने गरी नजर झुक्यो । हचुवामा परेर भने, “ओहो ! मैले त तपाईँलाई जिस्क्याएको मात्र थिएँ, गुरुवर !”
शिक्षक मुस्कुराए , एकदमै शान्त भावले भने “यस्तै-यस्तै चञ्चल बालकहरू हामी शिक्षकहरूसँग पढेर नै वकिल बन्छन् ।”
यो सुनेर वकिल लाजले पानी पानी भए। सारा संसार फेरि एकपल्ट बुझे —शिक्षकको ज्ञान , धैर्य र तीव्र बुद्धिमत्तालाई कुनै पेशाले जित्न सक्दैन ।





