“शिशिर”


प्रेमदत्त कलौनी
कञ्चनपुर

रविकिरण नलाग्ने फैलिएको तुसार
निशिकर पनि सुस्तै देखियो अन्धकार
सलिल छ अति ठण्डा हात नै झार्न थाल्यो
शिशिर शिविर पस्दा आङ नै काम्न थाल्यो।

सकल विटप लाग्छन् शुष्कझैं यो धरामा
विहग विमुख जस्तै देखिए झन् गरामा
चहलपहल केही मानिएको छ झर्को
चउर फगत एक्लै ओढ्न लाग्दैछ बर्को।

कहर जहर मानौँ फैलिएको बिहान
लुगलुग खुब काम्यो खेत खन्ने किसान
श्रमिक सकस झेल्दै गेह भित्रै निदाए
प्रकृति कहर भन्दै चित्त आफ्नो बुझाए।

कुहुकुहु धुन गर्ने कोइली बास्न छाड्यो
गिरि उपर छ सेतो वृक्षका पात झारे
वन उपवन सारा हैमको चल्छ सत्ता
दलिन मलिन लाग्छन् वेगले हल्छ पत्ता।

उकुसमुकुस कस्तो बालबृद्धा बिरामी
शिशिर बहुत भारी लाग्छ साह्रै हरामी
दिनप्रतिदिन उस्तै मौसमी चाल देखेँ
गलित मन हुनाले सूक्ष्म यो काव्य लेखे।