चन्द्रप्रसाद न्यौपाने
शुक्रराज शास्त्री जोशी भारतको बनारसमा वि.सं. १९५० मा माता रत्नमाया जोशी र पिता माधवराज जोशीबाट माहिला छोराका रूपमा जन्मिएका हुन् । यिनको स्थायी ठेगाना काठमाडौँको खिउँलँ, थाय्मदुमा हो । शुक्रराजको विवाह मेनकादेवी माथेमा (धर्मभक्त माथेमाको बहिनी) सँग भएको थियो । शुक्रराज शास्त्रीलाई वि.सं. १९९७ साल माघ १० गते तत्कालीन राणा सत्ताले टेकुमा झुन्ड्याएर हत्या गरेको थियो । यिनका शहीद के कलम से (१९७१), हिन्दूधर्मोपदेश (१९८४), बौद्धिक सन्ध्या (नित्यकर्म विधि १९८४), वैदिक अग्निहोत्र (नित्यकर्म विधि, १९८४), नेपालभाषा व्याकरण (१९८५), स्वर्गको दरबार (१९८६), नेपाली वर्णमाला (१९८९), नेपाली भाषा रिडर (१९८९), संस्कृत प्रदीप (भाग १-३, १९९०), ब्रह्मसूत्र शाङ्करभाष्य (पूर्वार्ध, अनु. १९९३), ब्रह्मसूत्र शाङ्करभाष्य (उत्तरार्ध, अनु. १९९३) आदि कृतिहरू प्रकाशित छन् ।
उतिबेला यिनी नेपाल भाषाका ठुला साहित्यकार थिए । शुक्रराजले संस्कृत भाषामा उच्च श्रेणीमा शास्त्री उत्तीर्ण गरेकाले उनलाई शास्त्री भनिएको हो । शास्त्रीले भारतको इलाहाबाद स्थित दयानन्द आर्य समाज विद्यालयका प्रधानाध्यापक भई काम गर्नुका साथै सामाजिक सुधारका क्षेत्रमा भारतका मदनमोहन मालवीयसँग काम गरेका थिए । पञ्जाब विश्वविद्यालयबाट अङ्ग्रेजी विषयमा स्नातक गरेपछि उनी नेपाल फर्किएका हुन् । सहिद शुक्रराज शास्त्री नेपालभाषा, नेपाली, हिन्दी, संस्कृत र अङ्ग्रेजी भाषाका ज्ञाता थिए । उनलाई नेपाल (नेवारी) भाषाको पुनर्जागरणकालका एक महान् लेखकका रूपमा लिने गरिन्छ । उनले नेपाल भाषाको व्याकरण प्रथम पटक प्रकाशित गरेका हुन् । नेपाल भाषामा वैज्ञानिक रूपले लेखिएको यो पहिलो व्याकरण थियो ।
भारतबाट काठमाडौँ आएपछि नेपालका क्रान्तिकारीहरूसँग उनको सम्पर्क भयो । उनी वि.सं. १९९३ मा नागरिक अधिकार समितिमा लागे र राणाशासन विरोधी अभियान चलाउन थाले । उनले महात्मा गान्धीसँग भेट गरी नेपालका बारेमा कुरा गरेका कारण काठमाडौँ फर्केपछि उनलाई राणा सरकारले नजरबन्द गरेको थियो । नजरबन्द तोडेर उनले वि.सं. १९९५ मार्ग १३ गते काठमाडौँ इन्द्रचोकमा राणा शासकहरूको विरुद्धमा पहिलो पटक जनतालाई आमसभामा एकजुट हुन आह्वान गरेका थिए । त्यसपछि उनलाई आठवटा मुद्दामा फसाएर राजद्रोहको अभियोगमा पक्राउ गरियो र तीनवर्षे कैद सजाय सुनाइयो । राजनीति मुद्दामा सबभन्दा पहिले सहिद हुने यी विद्वान् व्यक्तित्व विद्वान् पिताका छोरा थिए ।
बहुभाषा ज्ञाता शास्त्रीका रचनाहरू प्रशस्त थिए । यिनको स्वर्गको दरबारभित्र नारी उन्नति, नेपालको उन्नतिका मार्गहरू खोतलिएका छन् । प्रगतिउन्मुख पुस्तकहरू छन् । प्रजातन्त्रको वकालत गरेका कारण यिनलाई नेपाल राष्ट्रले कहिल्यै बिर्सेन र बिर्सने छैन । यी व्यक्तित्वका शास्त्रीय छन्दका रचनामध्येबाट १-४ पाउमा चौध-चौध मात्रा हुने मात्रिक छन्दमा रचित एउटा उदाहरण हेरौँ :
जय नेपाल ! जय नेपाल !
कर्मै अरू तपोभूमि
नेपाल यो पवित्र नाम
ऋषिहरूको शुद्ध धाम
(स्वर्गको दरबारबाट, छन्द : मात्रिक)