सङ्कट

अम्बिका धिताल
कमलविनायक भक्तपुर

फोनको घण्टी बज्यो । अन्जनाको “हजुर “ भनिन्।
बुढाले भने , “ बैङ्कको किस्ता तिर्यौ ?”
अन्जनाले भनिन् , “तिरेँ । अब १२ किस्ता बाँकी छ रे।”
बुढाले भने,” अब अर्को महिना नभई तलब आउँदैन । दशैँ आइपुग्यो । बाबुनानीले नयाँ नाना , चिची भन्नाल् यसो कतै ऋण गरेर खुसी बनाऊ है ?”
अन्जनाले भनिन्, “तपाईँले चिन्ता नै नगर्नू । दुई ओटा खसी दशैँलाई बेच्न ठिक्क हुन्छ, भैँसीको पनि दिन पुग्न आँट्यो। चाडपर्व , नानीबाबु,बाहुनापाथा सबै बन्दोबस्त गरौँला । बरु तपाईँ पनि घरै आउनुस् । सबैजनासँगै बसेर दशैँ मनाऔँ ।”
“अब म घरको किस्ता नतिरी आउँदिन । यो ऋण तिरेपछिको संसारै छुट्टै हुन्छ । पक्की घर हो । चारपाँच पुस्ताको लागि आनन्द भयो ।” बुढाले खुसी व्यक्त गरे।
लामो सास फेर्दै अन्जनाले भनिन्, “हुन त हो तर घरघर भनेर नै जीवन बित्ने भयो। कहिले आउँला खै मुक्तिको दिन पनि ।”
“म अहिले काममा नै छु। तीन दिनदेखि नेपालमा अविरल पानी परेकाले धेरै ठाउँ डुबानमा परेको देखे सुनेँको छु। ख्याल गर है?” भन्दै बुढाले फोन राखे।
त्यति किस्ता तिर्न अब कति महिना लाग्छ। औँला भाँच्दै अन्जना निद्रा देवीको काखमा पुगिन् ।
बिहानको चार बजे गाउँलेको खैलाबैला सुनेर अन्जनाले झ्याल मात्र खोलेकी के थिइन् । “ए अन्जना के सुतिरहेकी ? छोराछोरी लिएर निस्किहाल् । पहिरो आउन लाग्यो ।” भन्दै पल्लाघरे काकी कराइन् ।
अन्जनाले हत्तनपत्त छोरीलाई पिठ्युमा बोकिन् र छोरोलाई हातमा डोर्याउँदै घरबाहिर गाउँले भागाभाग गरेको ठाउँतिर दौडिन थालिन् । त्यसको पाँचै मिनेटमा अन्जनाको घरगोठ सहित आठ घर एकै सासमा बग्यो । खसी र भैँसीसहित अन्जनाको सयौँ सपना बगायो ।
दश वर्षदेखि यही घर बनाउन परदेश गएका बुढाको दुःख आखाँ अगाडि नाच्न थाल्यो । छोरीले हठात् सोधिन् ,”आमा दशैँको नाना किन्न जानलाई दौडिएको हो ?”