प्रार्थना खनाल जोशी
सुकेधारा, काठमाण्डौ
ठूलेको भान्सामा तिहुन भात , सानेको भान्सामा परिकार। वारि र पारिका दुई भान्साका खानाको प्रतिस्पर्धा।
ठूलेको भान्साले प्रतिउत्तर दिँदै भन्छ,”हेर ! खान त संसारका सबै जीवले खान्छन् तर कुन भान्साको खानाको प्रभाव कस्लाई कति बढी पर्छ भविष्यले देखाउला? बुझिस्!”
घरका जेठा बूढादाका धेरै सन्तान आम्दानी कम,टार्न पु-याउनै धौ धौ।
साने ठूलेदाइभन्दा १० बर्षले कान्छो, पढलेख गर्न जानेको,बाठो दुई सन्तानको बाबु , दाजुसँग भिन्न भएर एउटै घरमा बसेको।
दाजुका सन्तान ढिडो खाई मिहेनत गर्दै गए। झुपडीमा सुन फलाउन सकिन्छ भन्ने भनाइ चरितार्थ हुने सङ्केत केटाकेटीले देखाउन थाले।
यता सानेका दुई सन्तान मीठो खाईं सुखमा हुर्किन थाले। पढाइमा भन्दा अन्य कुरामा ध्यान दिन थाले। दाजुका छोराछोरी लोकसेवा पासगर्दै ठूलो पदमा पुगे। साने भाइका सन्तान कुलतमा फँसी जीवन खरानी बनाए। समयको गतिले देखायो तिहुन भात र मीठा व्यञ्जनको प्रभाव।