सरस्वती


नन्दलाल आचार्य

“कलम समात्ने हात नै काँप्छ बा !” अञ्जलीले गहभरि आँसु पार्दै भनिन्, “अक्षरहरू पनि धमिला देखिन्छन्।”
बाबुले निधारमा हात राख्दै सान्त्वना दिए, “विद्या कहिल्यै धमिलो हुँदैन छोरी । तिम्रो आँखाको आँसुलाई बचाएर राख । त्यसले नै तिम्रो जीवन बदलिदिन्छ ।”
सात वर्षअघि आमाको मृत्यु भएपछि, अञ्जलीको पढाइ अवरुद्ध भएको थियो । घरको जिम्मेवारीले उनलाई किताबबाट टाढा बनाएको थियो । तर, बाबु भने निरन्तर सम्झाइरहन्थे- “पढाइ छोड्न पाइँदैन, तिमी नै हाम्रो घरकी सरस्वती हौ ।”
एक साँझ , कामबाट फर्कँदा बाबुले अञ्जलीलाई नयाँ कापी र कलम दिए र आदेश दिएजस्तै भने , “अब पढाइ सुरु गर ! ”
अञ्जलीले कम्पनयुक्त हातले कलम समाइन् । आँखा उज्यालो बनाएर कापी खोलिन् । आँसुले अक्षरहरू धमिला भए पनि उनको हृदयमा भने स्पष्ट लेखियो, “विद्या कहिल्यै धमिलो हुँदैन ।”