साँढेको घमण्ड

देवकी के.सी.

एउटा गाउँमा कालो रङ्गको शरीरभरि सेता धब्बा भएको साँढे थियो । साँढे निकै मोटो र बलियो थियो । साँढेका सिङ तीखा र लामा थिए । साँढे निकै बलवान र हेर्दै डरलाग्दो थियो । साँढेको मालिकले उसलाई जोत्न नभई प्रजननको लागि मात्र पालेको थियो। ऊ ठुलो स्वरमा तर्सने गरि कराउँथ्यो । उसको आवाज सुनेर अन्य जनावर र मानिसहरु खुब डराउँथे । साँढेलाई बाटोमा हिडिरहेको देखे डरले सबै मानिसहरु भाग्थे । मालिकले उसलाई निकै तागतिलो खानेकुरा खान दिएर पालेको थियो ।
आफ्नो साँढे बलवान भएको र सबै ऊ सित डराएको देखेर साँढेको मालिक निकै खुसी थियो । साँढेलाई पनि आफ्नो बलको निकै घमण्ड थियो । साँढे चउरको घाँस आफुमात्र खान खोज्थ्यो । चउरमा घाँस खाइरहेका गाई ,भैँसी र बाख्रीलाई ऊ कराएर र उफ्रेर लखेट्थ्यो । ऊ सित गाई , बाख्री र भैसी निकै रिसाएका थिए । साँढे आफुलाई बलवान देखाउन सधैँ चउरमा बुर्कुसि मार्दथ्यो ।
साँढेसँग डराएर अलि पर गाई ,भैसी र बाख्री एकै ठाउँमा जम्मा भएर कुरा गर्न थाले । चउरको हरिया लामो लामो घाँसजति साँढे छिटो छिटो आफैँ खान्छ । अस्ति मैले घाँस खाइरहेको ठाउँमा आएर साँढेले आफ्नो तीखो सिङले घोचेर झण्डै मेरो पेटमा प्वाल पारिदिएको नि बाख्रीले गाई र भैँसीलाई भनिन् । संसारको बलियो म मात्र हो भन्ने सोचेको छ यो साँढेले । त्यसैले उफ्रेर हामीलाई खेदाउँदा त्यसको मालिक मख्ख परेर बस्छ —गाई र भैँसीले एकैसाथ भने ।
एकदिन साँढे चउरमा सबैलाई खेदाउन जोश निकालेर उफ्रदै कराउँदै थियो । अनायसै उसका गोडा चिप्लिएर चउरबाट तल ठुलो खोल्सामा लड्यो । साँढे निकै मोटो भएको कारण हत्तपत्त उठ्न सकेन । साँढेको पछाडिको गोडा भाँचियो । गोडा भाँचिएको दुखाइले बलवान साँढेको आँखाबाट आँशु बग्न थाले ।
साँढे उठेर हिड्न नसकेपछि साँढेको मालिकले आठदश जना बलिया मानिस लगाएर बलिया बाँसको सहायताले उचालेर बल्लतल्ल साँढेलाई घरमा लग्यो । साँढेको हालत देखेर बाख्रीले भनिन् —हेर त यस्तो बलवान साँढे पनि अरुले बोक्नु परेको । कति न म बलियो छु भनेर चटक देखाएजस्तो उफ्रदै हामीलाई तर्साउथ्यो । भैँसीले पनि बाख्रीको कुरामा सहमति जनाउँदै भनिन् — ठिक भन्यौ बाख्री तिमीले सबै चउरको घाँस मेरो मात्र हो भनेर हामीलाई लखेट्थ्यो नि । अब त यो चउरको घाँस हामीले मात्र खान पाउने भयौँ ।
गाईलाई भने बाख्री र भैँसी दुबैको कुरा मन परेन । गाईले उनीहरुलाई भनिन् —साँढे बलमा निकै घमण्ड गर्दथ्यो । त्यसैले ऊ सधैँ हामीलाई दुःख दिने गर्थ्यो । तर बल भएर के गर्नु आज ऊ आफनैँ गोडामा उभिन सकेन । आपत विपत भन्ने कुरा सबैलाई आइलाग्न सक्छ । त्यसैले साँढेलाई यस्तो अवस्थामा हामीले गाली नगरौँ । गाईको कुरा बाख्री र भैँसीलाई पनि ठिकै लाग्यो ।
साँढेको मालिकले साँढेलाई घर लगेर निकै उपचार त गर्यो । तर पनि उसका गोडा पहिलेका जस्ता बलिया हुन सकेनन् । साँढेको मालिकले पनि उसलाई पहिलेको जस्तो तागतिलो खानेकुरा खुवाउन पनि छाड्यो । साँढे पनि निकै दुब्लाउँदै गयो । मालिकले पहिलेको जस्तो साँढेको हेरविचार गर्न छाड्यो । मालिक सधैँ साँढेलाई फुकाएर चउरतिर लखेट्ने र आफु भनेघरमै बस्न थाल्यो ।
साँढे एउटा गोडा लतारेर हिड्ने गर्दथ्यो । जति उपचार गरे पनि एउटा गोडा राम्रो हुन नसक्दा मालिकले उसलाई पनि हेला गर्न थालेको थियो । एउटा गोडाको राम्रो भर नभएपछि गोडा लतारेर भएपनि ऊ चउरको घाँस खान्थ्यो । तर उसमा पहिलेको जस्तो म बलवान छु भन्ने घमण्ड थिएन । पहिलेजस्तो ऊ चउरको घाँस सबै मेरो मात्र हो भनेर गाई ,भैँसी र बाख्रीलाई लखेट्दैनथ्यो । साँढेले उनीहरुलाई पनि असल साथी सोच्न थालेको थियो ।
एकदिन साँढेले उनीहरुसित भन्यो —म पहिले बलको निकै घमण्ड गर्थे । मालिकले पनि म बलियो हुँदा निकै माया गर्थ्यो तर अहिले मलाई पेटभरि खान पनि दिँदैन । कुटेर खेदाउँछ । बलले संसार जित्न सकिन्छ भन्ने मेरो गलत सोचाईले गर्दा मैले तिमीहरु जस्तो असल साथीहरुलाई सधैँ दुःख दिन्थे । बलको घमण्ड गरेर बाँच्नु भन्दा त सबैसँग मिलेर बस्नु वेश हुँदो रैछ । साँढेको कुरा सुनेर उनीहरु निकै खुसी भए तर मालिकले उसलाई हेला गरेको सुनेर भने निकै दुखित भए ।
त्यसपछि उनीहरु सबैले एकैसाथ भने —बल भन्ने कुरा त क्षणिक पो रहेछ । बलमा घमण्ड गर्नु व्यर्थ पो रहेछ । त्यसैले बाँचुन्जेल सबैसँग मित्रता गाँसौँ र खुसीले बाँचौँ । त्यसपछि उनीहरु सधैँ चउरमा मिलेर घाँस खान थाले । आजभोलि उनीहरु एक अर्का सित डराएर होइन मिलेर हाँसीखुसी बस्न थालेका छन् ।