
कमल राज रम्फू
मण्डी बजार पाक्योंग जिल्ला सिक्किम
एउटा आम सभा थियो जहाँ साथीको विषयमा तर्क प्रतियोगिता हुँदै थियो। सबैले आफ्नो आफ्नो मिल्ने साथीको विषयमा बताउनु पर्ने थियो। जसको साथीमा धेरै राम्रो गुणहरू पाउँछ उसैले यो प्रतियोगिता जित्ने छ। सबैले आफ्नो आफ्नो मन मिल्ने साथीको विषयमा बताउन थाले र अन्तमा मैले पनि आफ्नो साथीको विषयमा बोल्ने मौका पाएँ। मैले भन्न थाले मेरो साथीमा यस्ता गुणहरू छन् जो यहाँ बताउनु भएको मध्यमा कसैको साथीमा पनि भेटिएन। मेरो साथी बिहान म उठेको देखि मै सँग हरदम हिँडदछ बेलुका म ओछ्यानमा पसे पछि मात्र बिश्राम गर्दछ। जब म हिँडछु मेरो पछि पछि कुरा काट्नेहरुको अनुहारमा छ्याप छ्याप्ती हिलो फ्याँकी दिन्छ। जब म कुनै अप्ठ्यारोमा पर्छु तब मेरो निम्ति हतियार बनेर मेरो रक्षा गर्छ। बर्खा झरीमा पनि मलाई ओभानो राख्ने गर्दछ। जेठको टन्टलापुर घाममा पनि मलाई शितलता प्रदान गर्दछन्। म कतै ठेस लागेर उसको मुन्टो चुँडियो भने पनि उसको घिच्रोमा फिन्चो घुसारेर पनि मलाई आराम दिने गर्छ। म बरु वाक्क हुन्छु उ देखि तर उ आफु घस्रेर घस्रेर न सकुन्जेल मलाई साथ दिई रहन्छ। यस्तो छ मेरो साथी।
सभामा उपस्थित सबै मानिसहरू चकित हुँदै हन् यस्तो पनि साथी हुन्छ र ? यो त अती नै भयो। हामीले अहिलेसम्म यस्तो साथी भेटाएका छैनौँ र सुनेका देखेका पनी छैनौँ। को हो उ ? के हो उसको नाम ?
मैले जुरुक्क उठेर सभालाई सम्बोधन गर्दै भने त्यो साथीको नाम हो ‘ चप्पल ‘।।।





