“सानी जुनकिरी”

हरि केर्काली

पिलिक-पिलिक बल्दै आउँछिन्
सानी जुनकिरी
यताउति यताउति
गर्छिन् घुमीफिरी।

मधुराे छ बत्ति यिनकाे
छ्याङ्ङ देखिंदैन
कति राम्री हाेलिन् कुन्नी
भन्न सकिँदैन।

कहाँ हुन्छिन् दिनभरि
के खाएर बस्छिन् !
खुलै हुन्छिन् बाहिर कि
दुलाभित्र पस्छिन् ?

कस्ताे हुन्छ घर यिनकाे
कस्ताे हुन्छ जीवन
कस्ता कस्ता खाना खान्छिन्
कस्ताे हुन्छ नि मन ?

काे छ हाेला राम्राेसँग
जान्ने यिनलाई
लाैन, यिनकाे आनीबानी
बताइदेऊ न मलाई ।