सिकाइ

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

तीन वर्षे नाति विद्यालय गएको पाँच महिना भइसक्दा पनि क देखि ज्ञ सम्म नसिकेको देखेर उजेलीले शिक्षिकालाई भनिन्” मैले पैसाको मात्रै खोलो बगाएँ। केही पनि सिकाउनु भएन छ ?”
शिक्षिकाले जवाफ फर्काइन ” धेरै सिक्नु भएको छ नि बाबुले?”
उनले दनक दिइन् ” कुरो त मिठो गर्नुभयो । तर उसले अ आा इ ई पनि राम्रोसँग जानेको छैन । एक देखि बीस सम्म पढ्ने पनि ढंग पुयाउन्न ।”
शिक्षिकाले सुनाइन् ,” त्यो तपाईँका पालाको कुरा होला। हुन त तपाईँहरुले विद्यालयको मुखै देख्न पाउनु भएन। जे जान्नुभयो दाजुभाइले घरमा घोकेको सुनेर थाहा पाउनु भयो । अचेल अर्कै कुरा सिकाइन्छ नि शुरुमा,तपाईंलाई थाहा छैन र !”
उनलेे मुखभरिको जवाफ दिने आँट गर्दै बताइन् ” खुव् आफू मात्रै बाठी छु ठान्नुहुन्छ । त्यही ए बि सी डि र वान टु थ्री अनि अङ्ग्रेजी गीत त होला नि। बेलैमा निमोठ्ने भयौ आफ्नो राष्ट्र भाषा!”
शिक्षिकाले अचम्मको कुरा सुनाइन् ” हामीलाई पनि राष्ट्रभाषाको धेरै माया छ। तपाईँले सोचे जस्तो अङ्ग्रेजी तर्फ शुरुमा तानेका छैनौँ । हामीले त अरुथोक नैं सिकाएका छौँ।”
उनी रिसाउँदै फत्फतिइन् “उसो भए हाम्रो लगानी बालुवामा पानी खन्याए जस्तै भयो कि डर पो लाग्न थाल्यो । हरि शरणम्। तैपनि भन्नु त के के सिकाउने गर्नु भएको छ?”
शिक्षिकाले स्पष्ट पारिन् ” सिकाएको कुरा व्यवहारमा उत्रिसकेको छैन त ?”
उनलेे भनिन् ” खोइ मैले मेसै पाइन। बाङ्गा कुरा नगरेर सिधै भन्नुहुन्छ कि?”
शिक्षिकाले भनिन् ” म भन्दैजान्छु फरक परे होइन भन्नुस् है।”
उनलेे सहमतिको टाउको हल्लाइन्।”
शिक्षिकाले सिकेर व्यवहारमा उतारेका कुरा क्रमशः भन्नथालिन्- “पहिले जतिखेर पनि रुञ्चे देखिनुहुन्थ्यो अचेल जतिखेर पनि खुशी देखिनु हुन्छ ।
निकै फोहोरी हुनुहुन्थ्यो ,अचेल मैलो लागेको कपडा लगाउन मान्नुहुन्न।
असभ्य शब्द निकै प्रयोग भएको सुनिन्थ्यो। अहिले सवैलाई तपाईँ भन्नथाल्नु भएको छ।”
एक्लै खेल्नुहुन्थ्यो । अहिले समुहमा रमाउने बानी बसेको छ। पहिले खाने ,झोला बोक्ने ,कपडा लाउने काममा अरुको सहयोग चाहिन्थ्यो। अहिले हरेक कुरा आफैँ गर्न अगाडि सर्नुहुन्छ ।”
पहिले प्लास्टिक ,बोक्रा लगायतका फोहोर जतासुकै फाल्नु हुन्थ्यो ,अहिले अरुले फालेको देखेपनि डस्विनमा लानुहन्छ।”
त्यतिमात्र होइन राम्रोसँग सावुन पानीले हात धोएर खानुहुन्छ। साथीभाइमा जातिपाती,महिला पुरुष,धनी गरिब भन्ने विभेद देखाउनु हुन्न। सबैलाई समानताको आँखाले हेर्नुहुन्छ । जानीनजानी आफैँले कलम समाएर मनका भाव कापीमा उतार्न खोज्नु भएको छ। हो कि होइन ?”
उनलेे भनिन् ” त्यो त सही हो ।”
शिक्षिकाले अन्त्यमा सम्झाइन् ” अब तपाईँको नाति चाँडै पढ्ने भइसक्ने अवस्थामा पुगिसक्नु भएको छ। बरु तपाईँहरुले पनि उहाँको राम्रो बानी आफुले पनि सिकेर व्यवहारमा उतार्ने कि ?  जोबाट सिक्दा पनि हुन्छ । सिक्ने बानीको भोकले मनको भित्री आँखा समेत राम्रोसँग खुल्नेछ।”