
रमेशचन्द्र घिमिरे
भोर्लेटार लमजुङ
“मेरा कतिपय साथीहरू वैदेशिक रोजगारमा लागेका छन् । म गाउँमै शिक्षक भएर सेवा गरिरहेको छु ।” शिक्षकले गर्वसाथ आफ्नो परिचय दियो।
“मैले आफ्नै देशमा व्यापार व्यवसाय गरेर सेवा दिइरहेको छु । इमानदार देखाउँदै व्यापारीले आफूलाई चिनाउन खोज्यो।
“म स्वदेशमै बसेर बिरामीको सेवामा तल्लीन छु ।” गमक्क पर्दै डाक्टरले आफ्नो पहिचान गरायो।
“मैले केही गर्न सकेको छैन । विदेश पनि जान सकिएन । गाउँमै बसेर, गाईभैँसी पालेर, खेती किसानी गरेर, धान फलाएर, तोरी उमारेर र सागपात बेचबिखन गरेर जेनतेन आफ्नो पेट पालेको छु ।”
किसानले निराश भएर आफ्नो चिनारी दियो । उसको बोलीमा जीविकाको कुरा थियो तर सेवाको कुरा थिएन।





