
पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा
धि ति न धि ति झ्याउरे
ताल,बाेल्दैछ मादल,
आकाशआँगन हावाकाे
चाल, नाच्दैछ बादल
धागेतनि नक धिना बाेल,
तबला बाेल्दैछ,
गुराँसे थुँगा पुतली
नानी हृदय खाेल्दैछ ।
धाधुना धातिना दादरा बाेल,
मादल घन्केकाे,
धाम र पानी इन्द्रनी रानी,
रङ्गमा चम्केकाे ।
खैजडीढाेलक डम्फू ट्याम्काे,
आआफ्नै बाेलमा
हिमाल पहाड तराई नाता,
अमूल्य माेलमा ।
डेउडा काैडा झिझिया
नृत्य, साकेला मारूनी,
मेची र काली जमे नाच्दा ,
धन्य छ याे भूमि ।
भेष र भूसा बाजा र गाजा,
संस्कार हजार,
अनेकताभित्र एकता फूल,
स्वर्गै छ नेपाल ।





