स्वार्थ


उमानाथ दाहाल
शिवसताक्षी नगरपालिका दुधे, झापा

आज मनेले बिद्रोह गर्यो । उसले राखिदिएको खानेकुरा खाएन ।
यो देखार रामप्रसादले छेउमा आएर भने- ” मने ! किन खाइनस् ? कि सन्चो भएन ? ” उनले खानेकुरा हातले चलाए।
मनेले खाने कुनै लक्षण देखाएन । उनले भाँडो उचालेर मुख छेउ लगिदिए । मने एक कदम पछि सर्यो र कडा आवाजमा बोल्यो – ” म नखाने आज ।”
कहिल्यै नदेखेको र नभोगेको घटना देखेर रामप्रसाद छक्क परे। उनले एकछिन मनेलाई नियाले र भने- ” किन मने ! के भयो ?”
“जहिल्यैको तपाईँको पक्षपाती व्यवहार भोगेर मलाई असह्य भयो , म खान्न, बरू मलाई नदिनुहोस् ।” मनेले गम्भिर असन्तुष्टि पोख्यो।
” के पक्षपात गरेँ मैले ।” रामप्रसादले बिस्तारै सोधे।
“भाइलाई र मलाई खानेकुरामा कत्रो भेद गर्नुहुन्छ ! फेरि मलाई चैँ कति थोरै , नराम्रो जति मेरो भागमा ।” मनेले एकैछिनमा थप असन्तुष्टि पोख्यो।
रामप्रसादले लाचारी हाँसो हाँस्दै बोले -” उसलाई त हलक्क बढाउनु छ नित । छिटै पैसासँग साटेर विदा गर्नुछ । तँ त पछिसम्म हुन्छेस् खालिस् न ।”
“पछि खाने भनेर अहिले आँत छिनाएर हुन्छ ? हामीले भाइ जस्तै पैसा साट्ने अरू जन्माउन सक्नु पर्ला नि त फेरि ।” मनेले ठाडठाडै बोल्यो । उसले अझै थप्यो – ” कति स्वार्थी हुन सक्या होला यी मान्छेहरू।”
रामप्रसाद टुक्रुक्क बसे र मनेको गर्दनदेखि ढाडसम्म कन्याउँदै भने -” के गर्छेस् त मने दुनियाँ यस्तै छ , म मात्रै कसरी एक्लो बृहस्पति हुन सक्छु ?”
मने पर्खिएन, ऊ बोलिहाल्यो -” सही कार्य गर्न किन दुनियाँलाई नियालिरहनु पर्यो।”