स्वास्थानी व्रतकथा


अजित आचार्य
व्यास-९ कलेस्ती, तनहुँ
हाल-मातातीर्थ,काठमाडौ

आज घरमा मामा आउनु भएको छ। त्यसैले रमाईलो माहौल बनेको छ। केटाकेटीहरू मामासँग साखुल्ले बनेर कुरा गर्न, मामाका कुरा सुन्न वरिपरि झुम्मेका छन्।
“मामा ! भरे त यौटा कथा सुनाउनु पर्छ नि ।“ – कक्षा ८ मा पढ्ने भाञ्जो चम्पकले मामालाई अनुरोध गर्यो। आमाले पुजाकोठाबाट श्री स्वास्थानी व्रत कथाको पुस्तक ल्याउनु भयो । यो देखेर मामाले भन्नु भयो – “अब यो महिनाभरी यही स्वस्थानी देवीको कथा सुन्ने हो। अरू कथा सुन्नु पर्दैन।“
“लौ ! अब मामाले भाका हालेर श्री स्वस्थानीको कथा भन। हामी सुन्छौँ। “ आमाले मामालाई भन्नु भयो। सबैले हातमा फुलपाती लिएर बसे। कथा शूरु भयो।
“ ……. त्यहाँ उप्रान्त महादेवलाई आकासवाणी भयो। देवताहरूले महादेवलाई पुकारा गरे । ………”ध्यानपुर्वक कथा श्रवण गरिरहेको चम्पकले मनमनले कुरा खेलायो। देवताहरूका पालामा पनि यस्ता आकासवाणी जस्ता मोबाइल प्रविधि त बनेका रहेछन्। यो त नयाँ प्रविधि त हैन रहेछ।
चम्पक अरू जसरी कथा श्रवण गरिरहेको छ । मामा श्लोक भनेजस्तै गरि भाका हालीहाली कथा पढिरहनु भएको छ ।“….. देवताहरूको स्तुती सुनेर महादेव तत्कालै त्यहाँदेखि अन्तर्ध्यान हुनु भयो र कैलास पर्वतमा पुग्नु भयो । ….. ….”
मामा कथा पढिरहनु भएको छ। यता चम्पकको मनमा भने फेरि कुरा खेल्न थाल्यो।
“ए ! अब विज्ञानले खोज गर्न बाँकी भनेको क्षणभरमा अन्तर्ध्यन भएर चाहेको स्थलमा पुग्न सक्ने प्रविधि हुने रहेछ। तर यो खोज कसले गर्न सक्ला? सबैभन्दा पहिला को अन्तर्ध्यान हुन्छ होला ? यदि मैले सकेँ भनेँ त ………….. ।“
“ल ! अब सबैले पुष्पाञ्जली पुस्तकमा चढाएर ढोग्नु।“ कथा सकेर मामाले सबैलाई अनुरोध गर्नु भयो। मामाको कुरा सुनेर चम्पक झसङ्ग भए झैँ भयो र पुस्तकलाई ढोग्न गयो । उसको मनमा भने यो कुरा खेलिरह्यो ।