२०८० साल बैशाखमा गर्न सकिने अतिरिक्त तथा विषयगत क्रियाकलाप

अभिषेक घिमिरे

वैशाख १ गते:
नयाँ वर्षको उपलक्षमा सबै विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण नेपालीलाई हार्दिक मंगलमय शुभकामना !

बैशाख पहिलो हप्ता: राष्ट्रिय बन्यजन्तु सप्ताहः
विद्यार्थीलाई पर्यावरणीय सन्तुलनको विषयमा जानकारी दिने, वन्यजन्तुको महत्वको बारेमा बुझाउने, हाल नेपालमा वन्यजन्तुमाथि हुने चोरी सिकारी, वन्यजन्तुका कारण मानव समाजमा उत्पन्न भएका समस्या लगायतका विषयमा विद्यार्थीलाई छलफल गर्न लगाउने, यस विषयमा विज्ञलाई बोलाएर वातावरणीय सन्तुलनको महत्व तथा यसको रक्षाका लागि मानव समुदायले खेल्नु पर्ने भूमिकाको विषयमा बताउन लगाउने, यस्ता विषय झल्कने विभिन्न प्रकारका प्रतियोगिता लगायतको आयोजना गर्ने।
वैशाख ८ गते: छन्द दिवसः
नेपाली विषयका शिक्षकले कक्षा ८ भन्दा माथिका विद्यार्थीलाई लक्षित गरी छन्दमा कविता वाचन गरेर सुनाउने, विद्यार्थीलाई लयात्मक ढंगले पढ्न लगाउने, त्यस्तै कविता लेख्न सिकाउने, सम्भव भए छन्द कविता प्र्लेखन तथा वाचन प्रतियोगिता आयोजना गर्ने।
९ गते : विश्व पृथ्वी दिवसः
हाम्रो ग्रह पृथ्वीका विषयमा युट्युब भिडियो हेर्न लगाउने, पृथ्वीको उत्पतिका विषयमा उपयुक्त भिडियो खोजेर विद्यार्थीलाई देखाउने, यसको संरक्षण हामीले कसरी गर्न सक्छौं भनेर छलफल गर्ने, चित्रकला/निबन्ध/कविता लेखन तथा अन्य सृजनात्मक गतिविधि आयोजना गरेर पृथ्वीको महत्वका विषयमा विद्यार्थीलाई बुझाउने।
१० गते: अन्तर्राष्ट्रिय पुस्तक दिवस/ प्रतिलिपि अधिकार दिवसः
विद्यार्थीलाई पुस्तकको महत्वका बारेमा बताउने, छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने, एसेम्बलीमा यस विषयमा विद्यार्थीलाई बोल्न लगाउने, पुराना पुस्तक संकलन गर्न लगाउने, आवश्यक परेकालाई वितरण गर्ने, आफुले पढेका पुस्तकका बारेमा समीक्षा गर्न लगाउने, विद्यालयमा नियमित पठन संस्कृतिको अभियान सुरुवात गर्ने।
११ गते: लोकतन्त्र दिवसः
विद्यार्थीलाई लोकतन्त्र दिवसका बारे बताइदिने, माध्यमिक तहका विद्यार्थीलाई नेपालमा लोकतान्त्रिक आन्दोलनका बारे बताएर यस विषयमा वक्तृत्वकला कार्यक्रम, निबन्ध लेखन जस्ता गतिविधि गराउने) उक्त दिन बिदा परेको भए अघिल्लो वा पछिल्लो दिन यस विषयमा माथि उल्लेखित गतिविधि आयोजना गर्ने।
१२ गते: २०७२ सालको महाभूकम्प स्मरण दिवसः
सबै विद्यालयले भूकम्पमा ज्यान गुमाएकाहरु प्रति स्मरण गर्ने, भूकम्पले पुर्याएको क्षतिबारे छलफल गर्ने, भूकम्प सुरक्षा बारे छलफल गर्ने, विद्यालयमा भूकम्प सुरक्षाको अभ्यास गर्ने, भूकम्पको स्मरण हुने चित्र, तस्वीर प्रदर्शन गर्ने।
१३ गते: वौद्धिक सम्पति दिवसः
विद्यार्थीलाई बौद्धिक सम्पत्तिको बारेमा बताउने, भौतिक सम्पति जस्तै आफुले सिर्जना गरेका लेख रचना, नयाँ आविष्कार, दृष्टिकोण, खोज/ अनुसन्धान जस्ता सामाग्री कसरी बौद्धिक सम्पति हुन्छन र यसको पनि अभिलेख गर्न सकिन्छ भनेर बताइदिने, प्रतिलिपि अधिकार दिवससंग असान्दर्भ जोडेर पनि यस दिवसलाई मनाउन सकिन्छ।
१५ गते: विश्व हाँसो दिवस/ चिया दिवसः
हाँसो र खुसीका साथ दिनको सुरुवात गर्ने, हाँस्नु किन स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने कुरा विद्यार्थीलाई सिकाउने, सदैव खुसी र उमंगका साथ उत्साहित भएर सिक्न सक्ने वातावरणको निर्माण गर्ने सामुहिक प्रतिवद्धता जारी गर्ने, विद्यालयलाई तनावरहित सिक्ने थलोका रुपमा विकास गर्न थालनी गर्ने, सबै शिक्षक भेला भएर संगै मिठो चिया खाने, आत्मीयता तथा मित्रता बढाउने, पारस्पारिक सहयोग र समन्वय गर्दै विद्यालयको शैक्षिक सुधारको योजना बनाउने, सामुहिक प्रतिवद्धता जारी गर्ने।
१८ गते: अन्तर्राष्ट्रिय श्रमिक दिवस:
“बालबालिकाको श्रम शोषण गर्नु अपराध हो, तर श्रम सिकाउनु धर्म हो” भन्ने मूल नाराको साथ विद्यालयमा श्रम श्रम संस्कृतिको सुरुवात गर्ने, यसलाई अभियानको रुपमा निरन्तरता दिने, आफ्नो विद्यालय तथा कक्षाकोठालाई सफा र हराभरा राख्न विद्यार्थी स्वयमले सहयोग गर्ने , कक्षा ८ देखि माथिका विद्यार्थीको हकमा एक विद्यार्थी एक सीप तथा एक विद्यालय एक उत्पादनको अभियान सुरुवात गर्ने, श्रमिक तथा मजदुरलाई सम्मान गर्नुपर्छ भन्ने चेतना तथा जागरण जगाउने कार्यक्रम आयोजना गर्ने, विद्यालयका सहयोगी/कर्मचारीलाई एक कार्यक्रम आयोजना गरेर सम्मान गर्ने/ विद्यार्थीलाई सम्मान गर्न लगाउने, श्रम गर्ने मानिस सबैभन्दा सम्मानित हुन्छ भन्ने कुरा बुझाउने।
२० गते: विश्व प्रेस स्वतन्त्रता दिवसः
विद्यार्थीलाई प्रेस स्वतन्त्रका विषयमा बुझाउन कोही विज्ञ वा क्रियाशील पत्रकारलाई विद्यालयमा आमन्त्रण गर्ने, सम्भव भए एसेम्बलीमा नत्र कक्षा ९ देखि माथिका कक्षामा गएर प्रेस के हो ? यसको महत्व के हो ? प्रेस किन स्वतन्त्र हुनुपर्दछ ? पत्रकार भएर काम गर्दै गर्दा उहाँले भोगेका अनुभव के हुन् ? जस्ता विषयमा विध्यार्थीसंग छलफल तथा अन्तरक्रिया गर्ने, सबै विद्यार्थीको सामू उहाँलाई स्वतन्त्र पत्रकारका रुपमा समाजमा पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान गर्ने, विद्यार्थीलाई मासिक बुलेटिन प्रकाशन गर्न उत्प्रेरित गर्ने।
२२ गते: बुद्ध जयन्तीः
यस दिन विद्यार्थीलाई गौतम बुद्धको जीवनीका विषयमा छलफल गर्न लगाउने, बुद्धको जीवनका विभिन्न रोचक पाटोलाई नाटकीय प्रस्तुति दिएर एसेम्बलीमा प्रस्तुत गर्न लगाउने, ध्यान/साधना कार्यक्रम आयोजना गर्ने, बुद्धका आठ मार्गलाई ठुलो फ्लेक्समा छापेर सबैले देख्ने गरी टाँस्ने तथा उक्त मार्गलाई पालना गर्न विद्यार्थीलाई प्रेरित गर्ने, चित्रकला तथा कविताका माध्यमबाट गौतम बुद्धका संदेश प्रस्तुत गर्ने, बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने आधारलाई मजबुत बनाउने खोज तथा लेख रचना लेख्न माध्यमिक तहका विद्यार्थीलाई प्रेरित गर्ने।
२४ गते: किरांत समाज सुधार दिवस/ राष्ट्रिय पत्रकारिता दिवसः
किरांत समुदायका विद्यार्थीको बाहुल्य भएका विद्यालयमा सोही समुदायका अगुवा व्यक्तिलाई विद्यालयमा आमन्त्रण गरेर किरांत समुदायको सभ्यता, संस्कृति तथा इतिहासका विषयमा बोल्न लगाउने, अन्य समुदायको बाहुल्य भएको अवस्थामा समेत सोही समुदायका अगुवालाई निमन्त्रणा गरेर यसरी कार्यक्रम आयोजना गर्ने । यस्ता गतिविधिले विद्यार्थीलाई सबै जातजातिको महत्व तथा आपसी एकता र सद्भावलाई मजबुद बनाउन सहयोग मिल्छ।
राष्ट्रिय पत्रकारिता दिवसलाई अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसमा भनिएझैं कार्यक्रम आयोजना गर्ने।
२५ गते: विश्व रेडक्रस दिवस:
विद्यार्थीलाई रेडक्रसका बारेमा बताउने, रेडक्रसले विश्वभरी मानवीय सहायताका क्षेत्रमा गरेका कामका बारेमा बताउने, वक्तृत्व, निबन्ध लेखन जस्ता कार्यक्रमको आयोजना गर्ने, कक्षा ११ तथा १२ का विद्यार्थीले आयोजना गर्ने गरी रक्तदान कार्यक्रम आयोजना गर्ने, भूकम्प, बाढी पहिरो, आगलागी जस्ता विपदको समयमा कसरी उद्धार तथा प्राथमिक उपचार गर्ने भनेर विभिन्न पुर्व अभ्यास कार्यक्रम आयोजना गर्ने, सम्बन्धित विषयका विज्ञलाई विद्यालयमा निमन्त्रणा गरेर सिकाउन लगाउने, मानवता/आपसी सहयोग/सद्भाव/तत्परता जस्ता गुणको विकास गर्न सोही अनुरुपका गतिविधि आयोजना गर्ने।
२६ गते: कानून दिवस:
विद्यालयमा अधिवक्तालाई आमन्त्रण गरी कानूनका विषयमा बताउन लगाउने, विद्यालयमा विद्यार्थीलाई आफैंले छलफल गरेर कक्षाकोठा तथा विद्यालयको नियम बनाउन लगाउने, नियम/कानून किन आवश्यक हुन्छ अनि कानूनको पालना किन आवश्यक छ भनेर विद्यार्थीलाई छलफल गर्न लगाउने, बुझाउने।

(माथिका गतिविधि विषयवस्तु अनुसार तहगत रुपमा योजना बनाएर गर्न सक्नुहुनेछ । यस्ता गतिविधि बिहानी एसेम्बलीमा, कक्षाकोठामा पाठ्यक्रम अनुरुप समायोजन गरेर वा नियमित पठन पाठनलाई असर नपर्ने गरी साना साना समुहमा/कक्षागत रुपमा छुट्टा छुट्टै पनि गर्न सकिनेछ।)