आत्मनिर्भरता


रम्भा पौडेल

एकसयपाँच बर्षका हजुरबालाई भेट्न अमेरीका पुगेका नाति आइपुगे ।
“हजुरबा ढोग गरेँ ।”
“आशीर्वााद नाति । कहिले आइपुगिस ? मोटाएछस।
तँलाई अमेरिकाको भात लागेछ ।“
हजुरबाले खिईएर मसिना भएका दाँत देखाउँदै हास्नुभो।
“हो हजुरबा अलि मोटाएको छु । के गर्ने त्यहाँको खाना नै त्यस्तै हुन्छ ।” नातिले जवाफ दिए । “हजुरबा आज म हजुरसँग बिशेष कुराकानी गर्न आएको हुँ ।”
“भन न के कुरा छ । अब म कति पो बाँचौँला र । बताइदिन्छु, तिमीले सोधेका कुरा ।”
हजुरबाले फेरी त्यही मसिना दाँत देखाउँदै हाँस्नु भो।
“अहिले हामी नोपालमा सबै कुरा किनेर खान्छौँ । मेले सुनेको हजुरहरुको पालामा नेपाल त आत्मनिर्भरै थियो रे । हजुरहरुले किनेर खानेकुरा के थियो ? भन्नुहोस त ।“
नाति मैले सुनेको —”लिच्छवीकाल धेरै सुन्दर थियो।
राणाहरुका पालादेखि नै विदेशी खरिद शुरु भयो । मैले राणा शासन पनि देखेँ । पञ्चायतकाल पनि देखेँ । राजाको शासन पनि देखेँ । राजा भएको बहुदल पनि देखेँ अनि राजा नभएको गणतन्त्र भन्नेपनि देखेँ । तरजति पछि भयो त्यति दुःख देखेँ । हाम्रा पालामा त केही पनि किन्न पर्दैनथ्यो बाबु । नुन र मट्टितेल किन्न पर्दथ्यो।
अहिले हामी यही बटौलीको नजिक छौँ। हामी गुल्मीबाट यहाँ आयौँ । पहिला अहिलेजस्तो गाडी बिजुली सुविधा त थिएन । नुन र मट्टितेल किन्न बटौली आउनु पर्दथ्यो । दुई चार दिन लगाएर एकडोको नुन र मट्टितेल बोकेर हामी पहाड पुग्दा हाम्रो ढाडको छाला खुइलिन्थ्यो । तर पनि रमाइलै लाग्थ्यो । बाटाभरि भारिबोबक्ने मानिस त कमिलाको लस्कर जस्तै हुन्थे, गफ गर्दै हिड्रदा बाटो कटेको थाहा हुँदैनथ्यो।”
नातिले शान्तभावमा कुरा सुनिरहे।
“अहिले तँ हवाइजहाज चढेर अमेरीकाबाट आइस् । हजुरबाले फेरी मसिना दाँत देखाएर हाँस्नुभो । अहिले जस्तो जे पनि किनेर खानै पाइँदैनथ्यो । घरमा सबै चिज उत्पादन हुन्थ्यो । टोप्रेल र छिटको धोती, खागीका र हेटौँडाका कपडा यही बटौलीबाट लौजाने हो घरका सबै जहानलाई । बर्षमा एकजोर फेर्ने हो । त्यै पनि सबै खुशी थिए धान, मकै, गहुँ, तेल, दाल, फलफुल र तरकारी सबै चिज घरमै उतपादन गरिन्थ्यो । उखु पेलेर खुदो बनाएर राखिन्थ्यो । कोदो र फापरको रोटी बाक्लो गरी तताएको खुदोमा चोबेर खाँदा ज्यादै मिठो हुन्थ्यो।
हाम्रो घरमो बैठक कोठाभरि त मह र खुदोका टिनले भरिभराउ हुन्थे । दुहुँना भैँसी कहिले टुटेनन । घ्युु जतिखाए पनि हुन्थ्यो। भुटन त घ्यूको हो । काठका कोलमा दिनभरि लगााएर तेल पेलेर ल्याउने गरिन्थ्यो । यसो फर्केर हेर्दा त अहिले सुख सुविधा भएर के गर्नु ?
मनमा आनन्द त त्यही बेला थियो । घरका जहान सबै घरमै हुन्थे।
असारे गीत , भजन किर्तन, देउसी भैलो , ताीज अनि दशैँको समयमा कम्ता रमाइलो हुन्थ्यो तेतीबेला । तिमीहरुले त त्यो मिठो शुद्ध र प्रकृतिक खानाको स्वाद त कहाँ पायौ र ? माटो र कमेरोले लिपेका काठको बार्दलीसितका ती घर र त्यो रमाइलो समाज कहाँ गयो ? थोरै मान्छेले गाउँ धानेर राखेका छन् ।” नातीले चाख मानेर सुनिरहे ।
“ती सुन्दर घरले मलाई अहिले पनि रमाइलो सम्झना दिन्छन् । म प्रधानपन्च हुँदा कति कचहरी मिलाएँ । कति बाटाघाटा खनाए । मेरो त्यो पुरानो बिरासत तिमीहरुले धान्नु पर्छ । म त अब मर्ने बेला भयो । म मरेपछि त्यै मेरै पुरानो घाटमा लैजानु । म अब जान सक्दिन । मेरो मन मात्रै त्यहा पुग्छ ।” नातिले घोरीएर सुनिरह्े र जवाफ दिए – “हो हजुरबा म अमेरिका गएपनि मन रमाइलो छैन । सुख त छ तर आनन्द छैन । ”त्यसो भए किन बस्छौ त्यहाँ अब फर्क देश र जाउ त्यही रमाइलो ठाउँमा । ” हजुरबा फेरी मुस्कुराउनु भयो।
नातिले हजुरबालाई अमेरीकाको उपहार दिँदै भने –“हस् हजुरबा म अवश्य फर्कन्छु र आफ्नै गाउँलाई फेरी आत्मनिर्भर बनाउन लाग्छु ।”