
रोजिना घिमिरे
आमा, यो कुन युगको रात हो जुन कहिल्यै सकिँदैन ? म पर्खिरहेको छु, एउटा सानो झिल्काको लागि, एउटा मसिनो सुइरो जत्रो उज्यालोको लागि, तर यो अँध्यारो त समुद्र जस्तै अनन्त रहेछ, जसले मलाई बिस्तारै निल्दै छ। हिजो मात्र त हो नि आमा, मैले त्यो रातो पुतलीलाई लखेट्दै बारीको कान्लासम्म पुगेको, त्यसका पखेटाका रङ्गहरू मेरो आँखामा अझै नाचिरहेका छन्, तर आज आफ्नै हातका औँलाहरू पनि कहाँ छन्, म ठम्याउन सक्दिनँ। यो शून्यता कति भारी हुँदो रहेछ, जसले मेरो छाती थिचिरहेको छ। बाहिर साथीहरूको आवाज सुन्छु, उनीहरू कराउँदै दौडिरहेका छन्, बल बजारिएको आवाज आउँछ, जितेको खुसीयालीमा कराइरहेका छन्, तर ती आवाजहरू अब मेरा लागि अर्कै ग्रहका सन्देश जस्ता भएका छन्। म यहीँ छु, यहीँ ढोकाको कापमा ओत लागेर बसेको छु, तर उनीहरू मलाई देख्दैनन्, या देखेर पनि नदेखे झैँ गर्छन्। “विचरा! अब त यसले देख्दैन, यसलाई खेलाएर के काम ?” भन्ने ती शब्दहरू मेरो कानमा तातो सिसा खन्याए झैँ बिझिरहेका छन्। के आँखाको नानी हराउँदैमा मेरो मित्रताको मूल्य पनि सकिएको हो र? हिजोसम्म म उनीहरूको खेलको प्राण थिएँ, आज म एउटा काम नलाग्ने माटोको ढिस्को भएँ। मलाई दौडिन मन छ आमा, मलाई त्यही चौरमा पछारिन मन छ, तर मलाई डर लाग्छ— यो अदृश्य पर्खालले मलाई कति खेर ठक्कर दिने हो थाहा छैन। म हिँड्न खोज्छु, तर गोडाले जमिन भेट्दैनन् जस्तो लाग्छ, म हात फैलाउँछु, तर रित्तो हावा मात्र मुठ्ठीमा आउँछ। आमा, उनीहरू भन्छन् म अब ‘अन्धो’ भएँ, तर मलाई त लाग्छ यो सारा संसार नै मेरो लागि अन्धो भइदियो। मेरो हाँसोमा हिजो सँगै हाँस्नेहरू आज मेरो रोदनको छायाबाट पनि तर्सिएर भागिरहेका छन्। कति निष्ठुरी हुँदो रहेछ यो संसार, जहाँ मान्छेको शरीरमा खोट देखिने बित्तिकै उसको आत्मियताको साइनो पनि टुट्दो रहेछ। मभित्र अझै त्यही चुलबुले बालक जिउँदै छ, मभित्र अझै त्यही दौडिने रहर जीवितै छ, तर यो बाहिरी अँध्यारोले मलाई जिउँदै चिहानमा पुरे जस्तो बनाइदियो। भगवान्ले मेरो आँखा मात्रै खोसेका हुन् कि मेरो बाँच्ने अधिकार पनि? मलाई ती साथीहरूको सहानुभूति चाहिँदैन, मलाई उनीहरूको ‘बिचरा’ भन्ने शब्दको विष पिउनु छैन, मलाई त मात्रै एउटा हात चाहिएको थियो जसले मलाई भनोस्— “साथी, हिँड हामी छौँ।” तर यहाँ त सबैजना उज्यालोको पछि कुदिरहेका छन्, म जस्तो अँध्यारोमा हराएको पथिकलाई कसले पर्खन्थ्यो र? मेरो गल्ती के थियो? मैले कुन पाप गरेको थिएँ र मलाई यो जिउँदो लास बनाइयो? अब यो घरका भित्ताहरू नै मेरा साथी भएका छन्, यी निर्जीव वस्तुहरूलाई छाम्दै म आफ्नो अस्तित्व खोजिरहेको छु। आमा, मलाई निद्रा लाग्दैन, किनकि म सुत्दा पनि त्यही अँध्यारो देख्छु र ब्युँझिँदा पनि त्यही। कति क्रूर छ यो नियति, जसले मलाई आफ्नै आमाको अनुहार हेर्नबाट पनि वञ्चित गरिदियो। म केवल तिम्रो तातो सास र ममतामयी स्पर्शबाट तिमीलाई महशुस गर्छु, तर तिम्रो आँखामा मप्रति उब्जिएको त्यो करुणाको आँसु देख्न सक्दिनँ। मलाई लाग्छ, म अब एउटा यस्तो कथा भएँ, जसको पानाहरू च्यातिएका छन् र जसलाई अब कसैले पढ्न चाहँदैन। यो संसारका रङ्गहरू मेरा लागि अब स्मृति मात्रै हुन्, एउटा यस्तो धमिलो सपना, जुन बिस्तारै बिलाउँदै छ र मलाई यो अनन्त कालको कालकोठरीमा एक्लै छोड्दै छ। आमा, के फेरि कहिल्यै बिहान हुँदैन ? के मेरो यो चिच्याहट सुन्ने कोही छैन ? म यही अँध्यारोमा हराइरहेको छु, एउटा यस्तो बालक, जो जिउँदो त छ, तर जसको संसार हिजै मरिसक्यो।




