
रोजिना घिमिरे
एक सुन्दर बिहान थियो। घामका किरणहरू झ्यालबाट भित्र आइरहेका थिए र सानो कोठालाई सुनौलो रङले पोतिरहेका थिए। मिना, राजन, र निमाका मुहारमा आज विशेष चमक थियो। उनीहरूका आँखामा उत्साह छल्किएको थियो किनभने आज उनीहरूको सबैभन्दा प्रिय विमला मिसको जन्मदिन थियो! उनीहरू तीनै जना मिसको घर नजिकैको पार्कमा भेला भए। उनीहरूका मनमा एउटै कुरा थियो– मिसको जन्मदिनलाई कसरी अविस्मरणीय बनाउने? “के गर्ने होला साथीहरू?” मिनाले सोधी, “हामीले मिसलाई खुसी पार्ने केही विशेष गर्नुपर्छ।” राजन, जो सधैँ नयाँ र अनौठा विचारहरू सोच्नमा माहिर थियो, खुसीले चिच्यायो, “हामी सबै मिलेर मिसका लागि एउटा विशेष उपहार तयार गरौँ न! जुन मिसले कहिल्यै नबिर्सनुहोस्।” निमा, जसका हातहरूमा जादु थियो र जो राम्ररी चित्र बनाउन सक्थी, उसको अनुहारमा ठूलो मुस्कान छरियो उसले निकै जोशपूर्ण आवाजमा भनी, “हो नि! म मिसलाई मन पर्ने रङ्गीन कार्ड बनाउँछु नि! जसमा हामी सबैको माया झल्किनेछ।” “लौ, त्यसो भए काम सुरु गरौँ!” राजनले उत्साहका साथ भन्यो, “मिना, तिमी बगैँचाबाट सबैभन्दा राम्रा र ताजा फूलहरू टिपेर ल्याऊ। मिसलाई फूल कति मन पर्छ भन्ने तिमीलाई थाहा छँदैछ।” मिना, फुर्तिसाथ बगैँचामा दौडिई। उसले गुलाब, सयपत्री र अन्य थुप्रै रङ्गीन फूलहरू सावधानीपूर्वक टिपी। ती फूलहरूले उसको सानो हात भरियो। “म मिसलाई मन पर्ने चकलेट किन्न पसल जान्छु,” राजनले भन्यो, “मिसलाई चकलेट कति मन पर्छ!” ऊ हतार-हतार पसलतिर लाग्यो। यता निमाले एउटा ठूलो कार्डमा सूर्य, पहाड, र चराहरूको सुन्दर चित्र कोरिरहेकी थिई। चित्र बनाइसकेपछि, उसले मायालु अक्षरमा लेखी, “हाम्री प्यारी मिस, जन्मदिनको शुभकामना! तपाईंको दिन सुन्दर होस् र तपाईंको जीवनमा सधैँ खुसी भरियोस्। हामी तपाईंलाई धेरै माया गर्छौँ।” उनीहरू तीनै जनाले आ-आफ्नो काम सकेपछि, फूल, चकलेट र कार्डलाई एउटा सुन्दर सानो बास्केटमा सजाए। उनीहरूको हृदयमा मिसलाई खुसी पार्ने एउटै चाहना थियो, एउटै लक्ष्य थियो। उनीहरूलाई थाहा थियो कि साना प्रयासले पनि ठूलो खुसी ल्याउन सक्छ। स्कुलमा, विमला मिस कक्षामा आउनुभयो। उहाँले कक्षामा प्रवेश गर्ने बित्तिकै, एउटा मीठो कोलाहल भयो! सबै बच्चाहरू एकैचोटि मीठो स्वरमा कराउन थाले, “Happy birthday, Mis! Happy birthday!” मिस छक्क पर्नुभयो। उहाँको अनुहारमा एउटा अद्भुत खुसीको चमक देखियो, जुन सूर्यको किरणभन्दा पनि चम्किलो थियो। मिना, राजन र निमा अगाडि बढे र उनीहरूले यति धेरै मायाले तयार पारेको उपहार मिसलाई दिए। मिसले उत्सुकतापूर्वक सोध्नुभयो, “ए, के हो यो?” बच्चाहरूले एकै स्वरमा भने, “आफै खोलेर हेर्नुहोस् न मिस! यो तपाईंको लागि हाम्रो सानो माया हो।” मिसले उपहार खोल्नुभयो। जब उहाँले सुन्दर फूलहरू, मीठो चकलेट र विशेष कार्ड देख्नुभयो, उहाँका आँखा खुसीले टिलपिल भए। उहाँले गहभरि आँसु पार्दै भन्नुभयो, “यो मेरो जीवनको सबभन्दा राम्रो जन्मदिनको उपहार हो! तिमीहरू सबैलाई धेरै-धेरै धन्यवाद। तिमीहरूले मेरो मन छोयौ। तिमीहरूको यो मायाले मलाई सधैँ ऊर्जा दिनेछ।” सबै बच्चाहरूले ताली बजाए र खुसीले मुस्कुराए। उनीहरूले मिसको जन्मदिनलाई साँच्चै विशेष बनाउन सकेकोमा गर्व महसुस गरे। त्यसपछि एउटा बच्चाले कुरा निकाल्यो, “मिस, आज तपाईंको जन्मदिन हो, केक काट्नुपर्छ नि!” मिसले पनि बच्चाहरूको वचन काट्न सक्नुभएन। त्यस दिन मिसले सबै बच्चाहरूलाई केक खुवाउनुभयो र सबैले हाँस्दै, खेल्दै रमाइलो गरे। कक्षामा खुसीको माहोल थियो। केक खाँदै गर्दा, एक सानो बच्चाले मिसको हात समाएर सोध्यो, “मिस, यो दिन हामी सबैलाई सधैँ याद रहनेछ है?” मिस मुसुक्क मुस्कुराउनुभयो। त्यो मुस्कानमा एउटा सुन्दर सन्देश थियो। उहाँले भन्नुभयो, “हो नि, प्यारा नानी हो। यो दिन मलाई सधैँ याद रहनेछ। तर तिमीहरूलाई एउटा कुरा भनूँ? यो जन्मदिनको केक र उपहारभन्दा पनि ठूलो कुरा तिमीहरूको माया र एकताबद्ध प्रयास हो।” उहाँले थप्नुभयो, “जब तिमीहरूले कुनै पनि काम एक भएर गर्छौ, तब त्यो काम झन् सुन्दर र सफल हुन्छ। आज तिमीहरूले मलाई दिएको उपहार पैसाले किन्ने कुरा होइन, यो त तिमीहरूको निस्वार्थ माया, मेहनत र एकताको प्रतीक हो। यही नै जीवनको सबैभन्दा ठूलो पाठ हो। एकतामा शक्ति हुन्छ भन्ने कुरा आज तिमीहरूले मलाई सिकाएर देखायौ।” सबै बच्चाहरूले मिसको कुरा ध्यान दिएर सुने। उनीहरूले बुझे कि साना-साना प्रयास, जब मिलेर गरिन्छन्, तब त्यसले कति ठूलो खुसी र सकारात्मक ऊर्जा फैलाउन सक्छ। त्यो दिन मिसको जन्मदिन मात्र थिएन, त्यो दिन बच्चाहरूले जीवनको एउटा महत्वपूर्ण पाठ पनि सिकेका थिए – दया, एकता र निस्वार्थ प्रेमको महत्व। त्यो दिन साँच्चै अविस्मरणीय थियो र सधैँ सबैको मनमा जीवित रहनेछ।





