कलङ्क


बाबुराम न्यौपाने”उत्स”
दमक,झापा

“मलाई एउटा कुराले धेरै नै पिरोल्यो मामू। आजको आधुनिक स्वतन्त्र युगमा पनि यति नराम्रो सोचका मानिस अझै पृथ्वीमा रहेछन्,कस्तो विडम्बना!!” कार्यालयबाट आउनासाथ छोरीको यस्तो प्रश्न सुनेर आमा तीन छक्क परिन्।
“के भयो छोरी,किन यस्तो प्रश्न गरेकी? जागिर सुरुगरेको बल्ल एक महीना त पुग्नलाग्यो ? यता मेरो छेउमा आउ।” आमाले छोरीलाई छेउमा बोलाइन्।
“विषय धेरै गम्भीर छ मामू।” छोरीले घट्घटी पानी पिउँदै भनिन्।
“त्यो कारुणीक दृश्य आँखामा झल्झली बस्यो,कटक्क मन खायो मामू। कठै कस्तो मजबुरी!! मैला लुगा,फुटेका हातखुट्टा,कल्कलाउदा निर्दोष अनुहार….।” छोरीले लामो निस्वास छोडिन्।
“वास्तविकता के हो, भन्न छोडेर किन पहेलि बुझाएको…. ।” आमा अरु जिज्ञासु बनिन्।
“घर,होटलमा मात्र होइन,कलकारखानातिर पनि उही हालत। इतिहास मात्र दोषी भनेको त,यहाँ वर्तमान पनि रोइरहेको रहेछ। म कार्यरत कारखाना पनि यसको साक्षी बनेकोमा ज्यादै दु:ख लाग्यो।” छोरी आमाका हातका औँला खेलाउँदै अगाडि भन्दैथिइन्।
“बालबालिकाको श्रम शोषण कहिले निमिट्यान्न हुन्छ मामू!! कि मानव चेतनाको कलङ्क बनेर युग-युग पिरोलिरहन्छ?”