काँचुली

धनसिंह विश्व
गेजिंग पश्चिम सिक्किम

 

बिहान आमाले भनेको कुरा झट्ट याद आयो।
“आज श्रावणे संक्रान्ति’ गाउँभरिको लुतो फाल्ने दिन। बाउ-छोरी छिटै आउने।”
“बाबा! लुतो भनेको के हो ?”
खेतमा, १० वर्षकी सानुले हातको फूल कुलोको पानीमा बगाउँदै बाबुलाई सोधिन्।
बाबु हाँस्दै भन्नुभयो “सर्पले पुरानो छाला फाल्छ नि, त्यही हो लुतो। नयाँ हुनलाई पुरानो फाल्नुपर्छ।”
सानुले कौतुहलता देखाउँदै भनी “अनि मनको लुतो ?”
बाबु गम्भीर हुँदै भन्नुभयो “त्यो झन् खतरनाक हुन्छ छोरी। चिलाउँछ तर देखिँदैन। एउटा मानिस शिक्षित भ‌एर पनि अन्य सरह मनमा पालेर राखेको पुरानो नकरात्मक सोच, घमण्ड, आरीश र अहम् नै मनको लुतो हो।
सानुले तुरुन्तै अर्को फूल टिपिन् र कुलोको पानीमा बगाउदै भनिन् “लुतो गयो भ्रम गयो, अन्धविश्वासको श्रम गयो।
आजदेखि मान्छे सब बराबर,प्रेमको घर होस् हराभरा।”
छोरीको फूल सँगै बाबुको मनभित्र गाडिएको पुरानो सोच पनि बग्यो।
साँझमा घर फर्कँदा सानुले सोधिन् “बाबा! भोलिदेखि कसैलाई सानो-ठूलो भन्दैनौँ है ?”
बाबुले हाँस्दै टाउको हल्लाएर स्विकृत जनाए।