
रम्भा पौडेल
स्कुलले सूचना जारि गर्यो । अब हाम्रो स्कुलको वार्षिकोत्सव आउँदै छ । यो हप्ताभरि नै खेलकुद प्रतियोगिता गरिने छ । बाल क्लवका अध्यक्ष शिक्षालाई विभिन्न विधामा भाग लिने विद्यार्थीहरुको नामाबली संकलन गर्न खेलकुद सरबाट आदेश भयो ।
सरले सबै सदनका विद्यार्थीहरूको नाम संकलन गर्न आदेश दिनु भयो । शिक्षाले पनि ‘हस’ भन्दै स्वीकृति जनाइन् । सदनबाट नामावली संकलन गर्ने कार्य भयो । सदन–सदनको बीचमा प्रतिस्पर्धा त सधैँ नै हुन्छ । यसपटक खेलका विधाहरु फरक छन् । नयाँकुरा यसपालि स्कुलले चङगा उडाउने प्रतियोगिता थपेको छ । चङ्गा उडाउने प्रतियोगितामा छात्राहरु पनि खेल्न तम्सिएको देखेर केटाहरु हाँस्न थाले–“केटीहरुले कहिँ चङ्गा उडाउँछन् र केटालाई जित्न सक्छन?”
रेशमले केटीहरुतिर हेरेर मनमनै तर्क गर्यो– केटीहरुको समुहले केटाहरुसँग प्रतिस्पर्धा गर्न सक्ला र ?
रेशमले भन्यो– “लौ हेरौ ? कस्तो उडाउँदा रहेछन् । ल ल हेरम न त ।”
“हामी पाँचजना केटीहरु तिमीहरुसँग प्रतिस्पर्धा गर्दै छौँ ।” शिक्षाले जवाफ दिइन् ।
नाम संकलन भएको तीन दिनपछि सबै खेलहरुको सुरुवात भयो । कक्षामा हाजिरी लगाएपछि सबै सर म्याडमहरु समुहमा विभाजित भई खेल खेलाउन थाल्नुभयो ।
तहगत रुपमा खेलहरु फरक फरक थिए । सानो कक्षामा कुर्सी रेस, बेलुन फुटाउने रेस । नानीहरु रमाइरहेका थिए ।
कोही दौडमा थिए त कोही साहित्यिक प्रतियोगितामा गीत कविता, कोही हाजिरी जवाफ आदिमा रमाएका थिए । चङ्गा उडाउने खेलको पालो आयो ।
सरले सबै सहभागीहरुलाई भाग लिन बेलाउनुभयो र ठुलो चौरको थुम्को भएको ठाउँमा जम्मा गर्नृु भयो । सरले सबैलाई पालैपालो प्रतिस्पर्धा गराउनु भयो ।
कसैले चङ्गा माथिसम्म पुर्याउन सके । कसैले उडाउनै सकेनन् । एकले अर्काको चङगाभन्दा माथि उँचाइमा पुर्याउने प्रतिस्पर्धा हेर्न सबै विद्यार्थी लाइन लागेका थिए । माथि पुर्याएपछि अर्काको चङ्गा काट्न जसले सक्छ उही विजयी घोषणा गर्ने भनेर सरले भन्नुभएको थियो ।
अहिलेसम्म चार जोडीले प्रयास गरिसके । कसैले पनि चङगा काटन भने सकेनन् । आ–आफ्ना समुहमा हुटिङ जारी थियो । अब अन्तिममा रेशम र शिक्षाको बीचमा प्रतिस्पर्धा भयो । उनीहरु धौलागिरी र अन्नपूर्ण समुहमा थिए । धौलागिरी र अन्नापूर्णका बीच प्रतिस्पर्धा हुने भयो ।
केटी समुहहरु शिक्षाको तर्फ हुटिग गर्न थाले जुन धौलागिरी को थियो । केटाहरु रेशम तिर लागे । जुन अन्न्पुर्णमा थियो ।
यतिबेला सदनात्मक भन्दा पनि केटी र केटा बीचको प्रतिस्पर्धा हुन थाल्यो । शिक्षाले चङ्गा माथि पुर्याउँदा सबैले शिक्षा, शिक्षा भन्दै चिच्याउन थाले ।
फेरी रेशमको चङ्गा माथि जाँदा केटाहरुले रेशम रेशम भनेर चिच्याउन थाले । दुबै बीच चङ्गा च्याटको खुबै प्रतिस्पर्धा भयो । अन्त्यमा शिक्षाले नै रेशमको चङ्गालाई काटी दिइन् । सबै केटीहरुले शिक्षालाई उचालेर हुटिँग गरे ।
स्कुलको वार्षिकोत्सवमा सबैलाई पुरस्कार वितरण गरियो । सरले प्रतिभाशाली छात्रा शिक्षाको गुणगान गाउनु भयो– “शिक्षा हुने बिरुवाको चिल्लो पात हुन् । उनी पढाइदेखि अतिरिक्त कृयाकलाप सबैमा अब्वल छन् । छोरीमान्छेले गर्न नसक्ने भन्ने कुरा, कुरामा मात्र हो । साँचो ब्यबहारमा उनीहरु जे पनि गर्न सक्दछन् । चङ्गा च्याटमा प्रथम हुने छात्रा शिक्षा राईलाई पुरस्कार लिनका लागि मञ्चमा आमन्त्रण गर्दछु । सरको आमन्त्रणपछि शिक्षा मञ्चमा पुगिन् ।उता दर्शक दीर्घाबाट ठूलो तालीको गडगडाहट चलि नै रह्यो ।





