खोट


गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ

” तपाईँकी छोरी एकदम चोथाले रहिछे । अलिकति संस्कार भन्ने कुरा त हुन्छ नि यार……! ” ज्वाइँ एकातिर च्याँठ्ठिए।
अर्कातिर सम्धिनीले छोराको कुरामा सही थप्दै भनिन् ,” तपाईँकी छोरी घमण्डीको राजा छे ! काम गर्ने ढङ्ग फिटिक्कै छैन।”
“तपाईँहरुसँग गाँसेको यो नाताले त हामीलाई चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरीजस्तो भएको छ ।” सम्धी उसैगरी कड्किए।
छोरीको बिहे गर्दा चर्को ब्याजदरमा लिएको ऋणले थिचेको भारी टाउको उठाएर मथुराले छोरीलाई क्वारक्वार्ती हेरिन् । अघिपछि ढुङ्गो बोल्ला तर आफू नबोल्ने उनकी छोरीले बलिन्द्र धारा आँसु खसाल्दै भनिन् , “खोट अनुहारमा होइन ममी, खोट त ऐनामा छ।”