गुरु


बलराम दंगाल
रत्ननगर,चितवन हाल-अष्ट्रेलिया

आज दिउँसो पुरानो हाजिरी पुस्तिका पल्टाउँदै गर्दा उनको नजर अर्जुनको नाममा पुग्यो। उनको स्मृतिमा विगत मडारिएर आयो। बिहानको शान्त कक्षाकोठा। झ्यालबाट छिरेको घामको किरण पुरानो काठको डेस्कमा परिरहेको थियो। गुरुजी हातमा किताब लिएर विद्यार्थीहरूलाई पढाइरहेका थिए। अचानक अर्जुनले सोध्यो,— “गुरुजी, किताबमा नभएको कुरा पनि सिक्न पाइन्छ ?” गुरुजी रोकिए। हातको किताब त्यहीँ खुला रह्यो। उनले अर्जुनतिर हेरे। उसको आँखामा जिज्ञासा थियो, तर डर थिएन। गुरुजी केही बोल्न सकेनन्। आँखाको कुनामा आँसु भरियो, तर लुकाए। अर्जुनले फेरि बिस्तारै भन्यो,— “गुरुजी, तपाईँले किताबका हरेक प्रश्नको उत्तर सिकाउनुभयो। तर आफ्नै प्रश्न गर्न कहिल्यै सिकाउनुभएन। हिँड्न सिकाउनुभयो, तर आफ्नो बाटो रोज्ने साहस दिनुभएन।” कक्षाकोठा एकाएक सुनसान भयो। गुरुजीले किताब बिस्तारै बन्द गरे र अर्जुनको काँधमा हात राख्दै भने,— “बाबु, आज तिमीले मलाई ठूलो पाठ पढायौ। शिक्षा भनेको उत्तर कण्ठ गर्नु होइन रहेछ। शिक्षा त सही प्रश्न गर्न, सत्य खोज्न र आफ्नो बाटो आफैँ रोज्ने साहस गर्नु रहेछ।” गुरुजी वर्तमानमा फर्किए र मनमनै भने,— “अर्जुन, तिमी मेरो गुरु थियौ।”