
नन्दलाल आचार्य
“आज तमु ल्होसार हो आमा, तर मेरो पात्रोमा कामकै मिति छ ।”
यति भनेर आमाको फोन राखेपछि रमेशले पन्ध्रौँ तलाबाट तल झुकेको सहर हेर्यो । मान्छेहरू कमिला जत्रै थिए, सपना बोकेका कमिला । निधारबाट झरेको पसिनाले टिसर्ट भिज्यो । गाउँतिर आज ढोल, घन्टु र कौडाको तालले आकाश हल्लाइरहेको थियोे । रमेश भने सहरमा फलामको रड, सिमेन्टका बोरा र हतौडाको ठकठकमा मात्रै व्यस्त थियोे।
उसलाई सम्झना आयो- आमाको काँपेको स्वर, “चाड पुर्खाको विरासत हो ।” तर विरासत जोगाउन पेट भरिनुपर्छ भन्ने सत्य सहरले सिकाइसकेको थियो । उसले बनाइरहेको अग्लो भवनतिर हेर्यो । हरेक इँटामा उसको भोक, ऋण र सन्तानका अधुरा सपना गाडिएका थिए । छेउको साथीले सोध्यो, “आज त तिमीहरूको चाड, काम किन नरोकेको ?”
मनका पीडा मनमै थुम्थुम्याएर रमेशले मुस्कुराउँदै भन्यो, “हाम्रो वर्गका लागि चाड तब सुरु हुन्छ, जब पसिनाको मूल्य बराबरीमा बदलिन्छ ।”





