चाडबाडको पाहुना


रञ्जुश्री पराजुली

नाम त उसको मनोज हो तर घरमा सबै मायाले “लुरे ” भनेर बोलाउँछन् । उ आमाको पेटमा पूरा महिना नबसिकन सात महिनामै जन्मिएको बच्चा थियो । त्यस्तो बच्चालाई डाक्टरी भाषामा ” प्रीम्याचोर “अर्थात् पुर्णता नपाएको बच्चा भनिन्छ । उ घरमा सबैको प्यारो थियो । हजुरबाबाको सबै भन्दा प्यारो । एक छिन आफ्नो अगाडि नदेखे ” कता गयो ? के गर्दै छ ? लड्यो कि ! भनेर चिन्तित हुन्थे । घरको कुना कापच्चा तिर लड्यो कि भनेर हेर्न पुग्थे । मनोज सात बर्षको भैसकेको छ । उ दुई कक्षामा घर नजिकैको स्कुलमा पढ्छ । उसको पढाइ पनि राम्रो छ । आफुले सुनेको भरमा अलिअली गित ,कविता र कथा पनि लेख्न सिक्दै छ। उसको प्रतिभा देखेर गुरु आमा खुशी हुन्थिन् ।घरमा हजुरबा चाहिँ “यो सात महिनमा जन्मिएको केटो भाग्यमानी छ” भन्थे । असोजको महिना थियो । सर्वत्र वडा दशैँको रमझम थियो । नव दुर्गादेवीको पाठपुजा गर्नेहरु घर भित्र मात्र नभै मन्दिरहरुमा पनि अटेस मटेस थिए । मनोजलाई घर भित्र आफ्नो साथी बनाएर पाल्तु जनावर पाल्न मन लाग्दथियो । उसलाई कुकुर ,बिरालो ,खरायो, लोखर्के,सेतो मुसा अनि पिजडामा सुगा, सबै पाल्तु बनाउँएर पाल्न मन लाग्दथियो । तर ती सबै पाल्न सकिँदैन भन्ने उसले बुझेको थियो । त्यसैले एउटा सानो जातको मोती कुकुर र केही खरायो पाल्ने अनुमती हजुरबाबा र सबै परिवार बाट पाएर राखेको थियो । समय पाएको बेला उ तिनीहरु सङ्ग कुरा गरेर ,दौडिएर खेल्द थियो । तिनीह्हरु पनि मनोजलुरेको कुरा बुझेर होकि उसले भनेको कुरा गर्दथिए । दशैँको बेला घरमा मिठोचोखो पाकेको थियो । उ बाहिर बरन्डाको मेचमा बसेर हजुरामाले पकाएको सेल पुरी स्वाद लिएर चपाउँदै थियो। एउटा डुङ्रे मुसा उसको नजिकै आएर “नमस्ते लुरे सर । मलाई पनि तपाईँको साथी बन्न इच्छा छ । बनाउँनु हुन्छ ? मेरो पनि दुलो भित्र खेल्ने कोही साथी छैन । बुबा मुसो र आमा मुसी लामो दुलो खनेर बर्खा यामको लागि अन्न भन्डारन गर्न व्यस्त हुनुहुन्छ । हामी तीन दाजुभाइ जन्मेका थियौँ । दुई अरु दाजुहरु उत्ताउला भएर बाहिरको रमिता हेर्न भनेर दुले बाहिर निस्किए थिए । म भित्रै आमा मुसीले ल्याउनु भएको गाजर टोक्दै थिएँ । त्यसैले म बाँचे मेरा दुबै भाईहरुलाई मुसाको वास्ना थाहा पाएर मुख मीठ्याउँदै दुलो बाहिर कुरेर बसेको ढेडु बिरालोले आफ्नो पञ्जाले झाप्पु हानेर तीखो दाँत गाडेर सिकार बनायो । आज हाम्रो दुलोमा आमा बुबा नभएको बेला अर्को गाउँमा बस्ने मेरी मामा घरकी हजुर आमा केही दिन हामीसँग बस्न भनेर जमिन मुनीको सुरुङ्ग मार्गबाट आउनु भएको छ । उहाँ “टाढाबाट आएको अलि बिमारी पनि छु । भोग असाध्य लागेको छ। नाति केही खानेकुरा छ कि भन्नु भयो” त्यसैले म तपाईँ कहाँ आएको । तपाँको घरमा दशैँको लागि मिष्ठान्न परिकार बनेको लोभलाग्दो बास्ना हाम्रो दुलोघरमा पनि पुगेको छ । मलाई पनि दिनुस न है। म पनि खान्थेँ बुढी हजुरआमालाई पनि अरु मुसाहरुले नदेख्ने गरी लगिदिन्थे” भन्यो । दुलोमा बस्ने मुसो जमिनमा आएर लुरे सँग खानेकुरा मागेको खरायोहरुले सुनी रहेका थिए । उनीहरुलाई त्यो भोकाएको मुसो र उसकी हजुरामालाई खानेकुरा दिन मन लाग्यो । तर तिनीहरु सँग उसले खाने खानेकुरा केही थिएन। अनि मसिनो स्वरमा ” लुरे बाबू भोको पेटको सेवा गर्नु पुण्य कमाउँनु हो । चाडबाडको बेला पाहुना लाग्न आएकोलाई तपाँले केही दिन सक्नु हुन्छ” भने। लुरेले एउटा सेल र दुईटा पूरा आफू खान ल्याएको थियो । त्यतिले पुग्दैन भनेर घर भित्र गएर आमालाई ” मेरा केही भोका साथी दशैँमा पाहुना लाग्न आर्का छन् । तिनलाई पेट भर्ने गरी सेल पूरा दिनुन ?” भनेर माग्यो । आमाले पनि खुशी हुँदै दशैँको बेला पाउनाको खातिरदारी गर्नु पर्छ । लाउ लगिदेउ भन्दै तीखे मुसा र उसकी हजुरमालाई पेटभरी पुग्ने गरी सेल पूरी दिइन् । लुरे बाबूले खुशी हुँदै साथी बन्न आएको दशैँको पाहुना तिखे मुसोलाई खानेकुरा दिए । तिखे खुशी हुँदै चुच्चो दाँतले च्यापेर “म तिमीसँग लुकामारी खेल्न भोलि आँउ छु है” भन्दै दुलो तिर पस्यो।