
मणिराज भट्टराई
गठ्ठाघर भक्तपुर
“अनि कागले कसरी थुङ्यो त बा बा ?”
नातिले जिज्ञासा राख्यो।
“छत माथि उभिएको थिएँ । एक्कासी आयो थुङ् हानेर गयो।”
मैले टाउको सुम्सुम्याउँदै बोलेँ।
नातिले आफ्नो शब्द सापट लिएको निको मानेन सायद् छड्के नजर लाउँदै घोरिएर बिस्तारमा सुन्न चाह्यो र बोल्यो “अनि?”
“छत नजिकै रहेको रुखमा कागले गुण लगाएको रहेछ। मलाई देख्ना साथ आमा काग डराएर भुर्र उडेर गई। फ्यात्त परेको गुँडमा चारवटा सुन्दर अण्डाहरू थिए । सायद् उसको गुँड भत्काउन आएको ठानेछ क्यारे त्यतै कतै बसेर निगरानी गरिरहेको बा काग एक्कासी स्वाइँय आएर ठुङ्गेर गयो ।” मैले व्यहोरा सुनाएँ।
बालसुलभ मन यत्तिकैमा के चित्त बुझाउँथ्यो। अनेक प्रश्नहरू थप्तै गयो जवाफ दिँदै गएँ । एकछिन चुप भयो। सोचेँ अब उसका प्रश्न भण्डार रित्तिए । तर उसले मौनता तोड्दै कडा सुझव दिएर थिच्यो ।
“हाम्रै बारीको रुखमा बस्ने उल्टै हामीलाई हानी गर्ने ! बा बा उसको घर किन नभत्काई दिने ?”
मैले सम्झाउँदै बोलेँ, “त्यसो गर्न हुँदैन बाबू ! जसको होस् जस्तो होस् घर आखिर घरै हुन्छ । दिनभरि थकित शरीर बिसाउने ठाउँ। आफ्ना जहान बालबच्चासँग ढुक्कसँग निदाउने ठाउँ । यस्तो पवित्र ठाउँ कहिल्यै पनि भत्काउनु हुँदैन।” “अँ अनि हिजो अस्ति नदी किनारका मानव बस्तीहरु किन भत्काएको त बा बा ?”
झसङ्ग भएँ । उसले मेरो जिब्रोनै थुते जस्तो भयो।
एक छिन घोरिएर जवाफ दिएँ। “अर्को राम्रो घर बनाएर दिन बाबू !” मलाई लाग्यो मैले सही जानकारी दिएँ।
उसको अनुहारमा पुलुक्क हेरेँ। उ ढुक्क थिएन।





