
लक्ष्मण ज्ञवाली
तिलोत्तमा १ नीलगिरि पथ शंकरनगर रूपन्देही
“हजुरबा, एउटा कथा भन्नुस न।” नातिले आग्रह गर्यो।
“राती भै सक्यो बाबु ,अब सुत्न पर्छ।”
“कथा नसुनिकन त म सुत्दै सुत्दिन हजुरबा।”
नातिले जिद्धी गर्यो।
त्यसो भए सुन् है त !
‘भोकले हत्तु परेको एउटा जनावरले बाटोमा हिँड्दै गरेको बेला बोटमा लटरम्म फलहरू देखेछ। पँहेला पाकेका फल देखेर ऊ लोभिएछ। अजङ्गको बोटमा आफैँ चढेर फल खान सक्ने उसको सामर्थ्य थिएन।’
अनि के गर्यो त हजुर बा ?’
‘उसले साथीहरू बटुल्यो र फलको स्वादको बारेमा धेरै बेर बतायो, सम्झायो। उसले वर्णन गर्दा सबले र्याल काढे।
“ऊ जादूगर जस्तै चटकी थियो।”
“जादूगर भनेको के नि हजुर बा ?
“एकछिनको लागि हुन नसक्ने कुरालाई पनि चमत्कार देखाएर हुन सक्ने भान पार्ने, लठ्याउने तरिका।” “ए त्यस्तो पो हुँदो रहेछ जादूगर त , है हजुर बा!”
नातिले विस्मयभाव प्रकट गर्यो।
“हो त!”
हजुरबाले कथा भन्दै जानु भयो।
“उसले सबैमा फल खाने इच्छा जगायो।
फल खाने लालसामा साथीहरू सबैले उसको योजना स्वीकार गरे। ऊ सबका काँधिकुरी चढेर अजङ्गको बोटको टुप्पोसम्म पुग्यो र पहेँला पाकेका फल भकाभक खायो, सन्तुष्टी लियो। फरक फरक स्वादका फलका रसले लठ्ठिएको उसले माथिबाट संसारको चहचह देख्यो ।”
‘उसले आफूलाई पनि स्थायी गद्धिसीन भएको महशुस गर्यो। वातावरणमा मडारिएको कालो बादलबाट हुन सक्ने अनिष्ठको सम्भावनालाई नजर अन्दाज गर्यो ।
तलबाट साथीहरूले चिच्चाई चिच्चाई बोलाईरहेका थिए । सजक गराइ रहे तर, उसले तलको कुरा सुन्दै सुनेन , हेर्दैहेरेन।’
‘अन्तत: ठुलो बाढी आयो । असमेल बाढीले गर्लाम् गुर्लुम् पारेर ऊ र उ चढेको बोट समेत मिल्काइ दियो ।’
“आखिर त्यस्तो दुष्कर्मी स्वार्थी ऊ को थियो त हजुरबा ?” नातिले जान्न खोज्यो।
“ऊ अरू कोही थिएन बाबु! सबैका काँधिकुरी चढेर आफूलाई नव राजा ठान्ने धूर्त ब्वाँसो थियो।”




