
गजल आचार्य
श्री बुढानिलकण्ठ आवासीय मावि
गोलबजार, सिरहा
२०८२ मङ्सिर १८ गते
हिजो आमाले मायालु स्वरमा भन्नुभएको थियो, “गजल, जन्मदिन भनेको जीवनमा एउटा सुन्दर नयाँ सुरुवात हो ।” आज मेरो जन्मदिन । बिहानै उठेर नयाँ, चम्किलो लुगा लगाएर मैले ऐना हेरेँ । मेरो मनभरि ठूलो खुशी र उमङ्गको धुन बजिरहेको थियो । केही बेरमा, साथी माया हातमा सानो, रङ्गीन उपहारको पोको लिएर आइपुगी । मायाले हाँस्दै सोधी, “गजल, तिमीले यो जन्मदिन कसरी मनाउने सोचेकी छ्यौ ? धेरै चकलेट खाने कि नयाँ ब्याडमिन्टन लिएर मैदानमा खेल्ने ?” म मुस्कुराएँ, तर मेरो आँखामा घर नजिकैको बाटोमा बसेर दुःखित मुद्रामा रुने त्यो बुढी बज्यैको याद आयो । मैले बिस्तारै तर गम्भीर हुँदै भनेँ, “माया, मैले सोचेँ, चकलेट त हामी भोलि पनि किन्न सक्छौँ । तर, आज म एउटा फरक, एकदमै राम्रो काम गर्छु ।” माया अचम्म मानी र जिज्ञासाले सोधी, “के काम गर्ने विचार गर्यौ ?” मैले आफ्नो योजना सुनाएँ, “हामी दुवै मिली ती बज्यैलाई बाटो कटाएर उनको घरछेउसम्म पुर्याइदिऊँ । उनलाई बाटो काट्नका लागि हिँड्न कति गाह्रो भएको छ, उनी धेरै दु:खी छिन् ।” मायाले तुरुन्तै ताली बजाई र खुशी हुँदै भनी, “वाह ! यो त धेरै नै राम्रो विचार ! जन्मदिनमा यस्तो असल काम गर्नु त सबैभन्दा ठूलो र अमूल्य उपहार हो ।” उनीहरू दुवैजना खुशीले दौडिएर गएर बज्यैको हात समातेर सावधानीपूर्वक बाटो कटायौँ । बज्यैले हामीहरूलाई धेरै धेरै आशीर्वाद दिइन् र उनीहरूको निधारमा मायाले सुमसुम्याइन् । मलाई लाग्यो- यो खुशी जन्मदिनको मीठो केक खाँदाको भन्दा पनि धेरै आनन्द दिने खालको रहेछ । “जन्मदिन मनाउनु भनेको आफू मात्र खुशी हुनु होइन रहेछ, अरूको सानो दुःख मेटाउनु पनि हो ।” यसो भन्दै मायाले अहिले फेरि थपी, “गजल, हरेक वर्ष तिम्रो जन्म होस्, र हरेक नयाँ वर्षमा तिमीले एउटा दुःख ‘कम’ गर्ने प्रण गर ।”





