पन्ध्र असार

प्रभादेवी पौडेल

“बुढी, आज पन्ध्र असार पहिला पहिला त यति बेला रोपाइँको निक्कै चटारो हुन्थ्यो के गर्ने ? बेलैमा आफ्नो हातगोडा बसीहाल्यो। पोहोर सम्म त जेनतेन गरेर चन्द्रेले आधा दिन्थ्यो यसपालि त छोरो मलेसिया गएदेखि ऊ भुइँमा न भाँडामा भएको छ।”
“त्यही त बुढा मैले पनि सोमे, रीकुटे अनि चौधरी सबैलाई भेटेर कुरो गरेकी थिएँ सबै टौटकिए ।अनि अस्ति त लामै कुरा भएको थियो छोरासँग के भन्छ सोध्नु भएन?”
“के भन्नु नि , हामी भ्याउँदैनौँ ,मान्छे नपाए बाँझै छोड्नु भन्छ। ”
“बुहारीको त काम थिएन नि यसो रोपाइँको बेलामा दुईचार दिन आएर सघाए हुन्थ्यो नि जोरीपारीको मुखिन्जेल।”
“हाम्रा कुरा कहाँ खान्छन् र आज भोलिका छोरा बुहारीले। कुरै कुरामा तीन बजिसकेछ अब खाजाको मेसो गर्ने होइन?”
“आज पन्ध्र असार दही चिउरा खाने दिन, रोपाइँ नगरेपनि आफूले जोगाउन सक्ने भनेको यही एउटा संस्कृति हो” भन्दै उनले दुई भाग खाजा ल्याईन्।
उनीहरू खाजा खाँदै फेसबुकका फोटा हेर्दै गर्दा टक्क एउटा दृश्यमा गएर आँखा अडियो। उनले त्यति आँखाले नठहर्याएर बुढिलाई नजिकै बोलाएर भने, “ए बुढी हेर त यि हाम्रा छोरा बुहारी होइन् भन्या?”
उनी पनि नजिकै आएर फोटो हेर्दै भनिन्, “के हेर्नु र खै, लाजको पसारो। यो गमलामा धान रोपेर फोटो खिचाउनुको साटो आफ्नै खेतमा आएर काम गरेको भए त एकातिर पेट भरिने अर्कातिर माटोले पनि आशिक दिन्थ्यो होला नि।”