परिबन्धन


राजु क्षत्री अपुरो

“हेल्लो, मलाई चिनिस् ?” उनले अलि कडा स्वरमा भने ।
रवि दिनभरिको थकानपछि राति खाना खाएर सुत्न लागेको थियो । फोन आएपछि उठाएको मात्र के थियो, ठाडो प्रश्न सुन्नु पर्यो । मन नलागेर भए पनि अलि नरम भएर उसले जवाफ दियो, “हजुर चिनें नि ! तपाईँलाई कसरी पो भुलुँला र ?”
“मेरो काम गर्न किन ढिला गर्दै छस् ?” हकारेको लवजमा उनी बोले।
” हुन्छ , हुन्छ । भैहाल्छ नि! म प्रयास …. ।”
उसले आश्वासन दिँदै थियो उताबाट कडक आवाज आयो  “ओई मुला ! त्यत्ति जाबो काम गर्न पनि यत्तिका दिन लाग्छ ?”
“नरिसाउनु होस् न महोदय , सरकारी काम हो । प्रक्रिया पुर्याउनु परेन ? भोलि म फस्न सक्छु ।” उसले सम्झाउने प्रयास गर्यो ।
उनले धम्की दिँदै भने, “म अरु केही जान्दिनँ । मेरो काम हुनुपर्यो। तँलाई नियुक्ति गर्ने बेलामा मेरो के हबिगत भएको थियो ? बुझेको छस् ? दिनेले असुल्न पनि जानेको हुन्छ भन्ने कुरा हेक्का राख् है ।”
जागिर खाएदेखि उसलाई विभिन्न ठाउँबाट यस्ता धम्की प्राय: आउने गर्थ्यो । कसैले यो गर्दे , कसेैले त्यो गर्दै नत्र …..! नत्रै नत्रको धम्की खपेर ऊ आजित भैसकेको थियो। फोन काटि सकेपछि उसले डायरी पल्टायो । कलम लियो र लेख्यो, “माफ गर्नुहोला ! मलाई शिक्षा दिने मेरा आदरणीय गुरुहरू ! समय र परिस्थितिका अगाडि म कलियुगको चेलो हुन बाध्य भएँ । “