“पसिनाको सम्मान र पापको पुकार”


देवीलाल पाण्डे

भोको पेट बस्नुहोस्,
खाली खुट्टा हिँड्नुहोस्,
पुराना कपडा लगाउनुहोस्,
तर अरूको आँसुको मूल्यमा
आफ्नो खुसी कहिल्यै नखोज्नुहोस्।

अरूको पसिना सुक्दै गर्दा
तपाईँले स्वादिलो भोजन खानुभयो भने,
त्यो भोजन होइन —
कसैको सपना, कसैको संघर्ष,
र त्यो कौरोमा कसैको आँसु मिसिएको हुन्छ।

झुट बोलेर, ठगी गरेर,
कसैलाई दु:ख दिएर
बढेको सम्पत्ति
कहिल्यै शान्ति दिन सक्दैन।
त्यो सम्पत्ति छातीमा ढुंगा बनिन्छ,
र पाप घरको धुरीबाट चिच्याउँछ —
“हे भगवान्! यहाँ अन्याय भयो।”

सम्झिनुस् —
कसैलाई रुवाएर बाँच्ने जीवन
अस्थायी त हो नै,
तर त्यो जीवनमा सन्तोष कहिल्यै हुँदैन।
पैसा, गाडी, घर…
यी सबै किनमेल त हो,
तर अरूको मन जितेर कमाएको सन्तोष —
त्यो नै साँचो सम्पत्ति हो।

हजुर अरूको ज्यानमा पसेको पसिना
सित्तैमा खान सक्नुहुन्छ होला,
तर त्यो गासले तपाईँको आत्मा
कहिल्यै सन्तुष्ट पार्दैन।
किनकि संसारमा सबैभन्दा ठूलो धर्म हो —
ईमान र इज्जत।

त्यसैले…
भोलि पापले धुरीबाट कराउने छ भन्ने
धेरै ढिला नहोस् —
अझै पनि समय छ,
सच्चिनुहोस्, सम्झिनुहोस्,
र अरूको आँसु होइन,
अरूको आशीर्वाद बटुल्नुहोस्।