“पानी”

डा छायादत्त न्यौपाने

ए पानी!
कति चिसो तिमी
जाडोमा छुनै नसकिने
नछाेई नहुने
हिमालतिर उस्तै तिम्रो
स्वभावै चिसाे

घामले तताउछ
आगाेले उमाल्छ
एकछिन पछि उस्तै
कति चिसिन सकेको
एकछिन बस भन्याे
सुन्ने हैन!

कसैको क्यै नलाग्ने
एक ठाउँ त अडिनै नसक्ने
सलल तलतिर
माथि चाहियाे कि
बल गरी गरी
उपकरणले तान्नुपर्ने
साँच्चै अचम्मकाे चिसाे

तर प्राणीहरूकाे प्रिय
जीवनदायी सरस तिमी
वनस्पति उम्रन बढ्न र झाँगिन
तिम्रै साथ चाहिने
कत्रो शक्ति के तिमीसँग!

प्राणीमा रस भर्ने
खेतीपाती हुर्काउने
बिजुली उत्पादन
सरसफाइ तिम्रै साथ
नभई नहुने
कति धेरै देन छ है तिम्रो!

तिमी विना त पृथ्वी
रित्तै हुँदाे हाे है !
आकाशसँग मित्रता
पृथ्वीको अभिन्न अन्तरङ्ग
वायु बाेलाउने सुर कतै
बाढी कतै पहिरो

खै कुन बेला हाे
सुनामीकाे उर्लापात
पत्तो नदिई छिटाछिटीमा
खुम्चिने कला
फुकेकाे विशाल सामुद्री
छालहरूमा बहकिने चाल
कस्तो बहुरूपी
के रङ शून्य तिमी!