फुर्तिलो ज्यान बनाऊ


युगल बसेल
सन्धिखर्क -१,अर्घाखाँची, हाल चन्द्रागिरी -११

महिना पुस माघैमा
मन तानिन्छ आगैमा
जोलाई नि जाडो उत्ति हो
पर्छ सबको भागैमा ।

सिरकमा गुडुल्किऊँ कि ?
घामै ताप्न तम्सिऊँ कि ?
तातै तातो खाउँला कि ?
नत्र सातो जाला कि ?

चपाऊँ मकै भटमास
खाऊँ कोदो रोटी गाँस
कुक्रुक्किए झन च्याप्छ
चुलाऊँ फुर्तिफार्ति रास।

पोलौँ आलु पिँडालु
पकाऊँ ,तरुल गिठा लौ
घिउ ,चाकु गमर्क्याऊँ
ठन्डी परै उछिट्ट्याऊँ।

दाँत चिउँडो नकमाऊ
न्यानै नाना लगाऊ
कुक्रुक्किए च्याप्छ झन्
फुर्तिलो ज्यान बनाऊँ।