“बच्चाहरूले हामीलाई नभनेका कुराहरू”


सागर

१. म सँग चर्को आवाज नबोल्नुहोस्।
तपाईँको आवाज चर्को हुँदा म डराउँछु। पक्कै मेरो कुनै गल्ती हो जस्तो महसुस हुन्छ।
२. मेरो कुरा सुन्नुहोस्।
जब म आफ्ना कुरा भन्छु । मेरो आँखामा हेर्नुहोस्। जसले गर्दा मलाई र मेरो सानो संसारलाई तपाईंले महत्व दिनुभएको छ भनेर म आशावादी हुन्छु।
३. मलाई मेरो गति अनुसार बढ्न दिनुहोस्।
कुनै कुराको लागी म तयार छैन भने दबाब नदिनुहोस्। याद गर्नुहोस म बच्चा हुँ । म खेल्दै¸ अन्वेषण गर्दै त्यसैको आधारमा राम्रो सँग सिकीरहेको हुन्छु ।
४. मलाई समय दिनुहोस्।
तपाईँले मलाई समय दिनुभयो भने म खुशी हुन्छु । मलाई त्यो धेरै मन पर्छ । तपाईं खुसी मनस्थितिमा हुनुहुन्छ भने मसँग खेल्नुहोस् । हाँस्नुहोस् । तपाईँको सामिप्यतामा घुलमिल हुँदै बनेका यादहरू मेरो जीबनको अन्त्यसम्म पनि साथमै रहनेछन् ।
५. मलाई दाजुभाइ–दिदीबहिनी वा अरू बच्चासँग तुलना नगर्नुहोस्।
यसो गर्दा म आँफुले आँफैलाई कमजोर ठान्न बाध्य हुन्छु । मेरो मनोबल कमजोर हुन्छ । मलाई सबैभन्दा बढी चाहिएको तपाईंको स्वीकार र साथ हो।
६. म दुःखी हुँदा मलाई समाउनुहोस्।
मलाई रुन दिनुहोस्। “तिमी धेरै नाटक नगर” भनेर गालि नगर्नुहोस् । मेरा भावना पनि तपाईँकै भावनाजस्तै वास्तविक हुन्छन्।
७. मलाई आफूलाई कसरी हेरचाह गर्ने भनेर सिकाउनुहोस्।
तपाईँ आँफू पनि आराम गर्नुहोस् । सुत्नुहोस् । मनपर्ने कामहरू गर्नुहोस् । साथीभाइ भेट्नुहोस्। अभिभावक हुनु आनन्दको कुरा हो भनेर देखाउनुहोस्। तपाईँ थकित, रिसाएको वा सबै कुरामा त्याग गरेको देख्दा मलाई दुःख लाग्छ। किनकि यो सबै मेरो कारणले त होइन ? भनेर मैले सोच्न सक्छु।
८. म डराउँदा नजिकै बसिदिनुहोस् ।
मेरा बालसुलभ डरहरूमा नहाँस्नुहोस्। तपाईँ पनि सधैँ अँध्यारोबाट डराउनुहुन्थ्यो भनेर मलाई भन्नुहोस् । अनि मेरो सिरानी मुनि टर्च लाइट राख्न दिनुहोस्।
९. मलाई केवल म भएको कारणले माया गर्नुहोस्।
म छिटो दौडिन्छु । कविता सुनाउँछु । त्यस्तै अनेक परिपक्व व्यवहार गर्दा मात्र हैन म गलत हुँदा पनि माया गर्नुहोस् । मेरा गल्तीहरूमा समेत तपाईँको माया हराउँदैन भनेर मैले थाहा पाउनु आवश्यक छ।
१०. आफ्नो जीवनसाथीलाई माया देखाउनुहोस्।
झगडा कसरी गर्ने? झगडा भएमा कसरी मिलाउने ? कठिनाइको सामना कसरी गर्ने ? साँचो प्रेम कस्तो हुन्छ भन्ने कुरा म आमाको गर्भभित्रहुँदैमा तपाइबाटै सिकिरहेको हुन्छु ।
११. म तपाइँकै विश्वासहरुबाट सिक्दै हुर्किरहेको हुन्छु ।
म प्राय तपाईँका विश्वासहरू नै सिकेर हुर्किन्छु । मेरो बारेमा । अरूको बारेमा । जीवनका बारेमा । यी विश्वासहरू सही छन् कि छैनन ? मेरो जीवनमा सहयोग प्रभाव पार्छन ? त्यो कुरा सोच्नुस् । यदि तपाईँले यो संसार खतरा छ। मानिसहरू खराब छन् भन्ने सोच लिनुहुन्छ भने म पनि डर र अविश्वासकै गोरेटोमा हिँडिरहेको हुन सक्छु।
१२. म तपाईँलाई बुझिरहेको हुन्छु ।
मलाई यो कुरा थाहा छ कि तपाईँले मलाई माया गर्नुहुन्छ । त्यसका लागि दुःख र कष्ट सहँदै अनेक प्रयास गर्नुहुन्छ। खराब दिन र साना असफलताहरू सामान्य हुन्छन भनेर मलाई सिकाउनुहोस । आँफु पनि सिक्नुहोस् । आफ्नो पनि ख्याल गर्नुहोस् । आफुले आफैँलाई क्षमा गर्नुहोस । अनि म पनि त्यहीबाट सिक्नेछु।
३. मलाई मुस्कान दिनुहोस् ।
तपाईँको साँचो मुस्कानले मलाई शान्त पार्छ। मलाई सुरक्षित महशुस गराउँछ। यसले मलाई माया पाइरहेको छु जस्तो महसुस गराउँछ। तपाईँका ममतामयी हातहरुले मेरा हात समाउँदै मेरो कपाल सुम्सुम्याएर स्पर्श सहित मलाई मुस्कान दिनुभयो भने मेरा धेरै डरहरु हराउनेछन्।