
कल्पना मरासिनी
भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर
“ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका होलान् ।” आमाले दुईवटा झोला हाम्रा हातमा थमाउँदै भन्नुभयो। मध्य जेठको एक रात । घर नजिकैको वन कल्लेनी पाखामा आँप पाक्ने समय थियो । कान्छी सानै थिई । माइली बहिनी र म वनतिर ओरालो लाग्दा जून बादलभित्र लुकामारी खेल्दै थियो । “दिदी ! तिमी सिन्दुरे, दिपे ,बम्मै र जगल्टे आँप भएतिर जाऊ । म अलि पर दगुर्ने आँप पुगेर आउँछु।” बहिनीले काम भाग लगाई । “छिटो गर नि फेरि, अरू आइपुग्लान् ।” ऊ बोल्दै दगुरी । आखिर जे भने पनि आज सबै आँप हाम्रै हुनेमा हामी ढुक्क थियौँ।बहिनी धेरै जाँगरिली तर म अलि अल्छी । सिन्दुरे आँपको बोटमुनि अँध्यारो खोल्सा थियो। हातले छाम्छुम पारेर केही दाना आँपहरू टिप्दै झोलामा राखेपछि मनमा विचार आयो, “बरु बिहानमा सबैभन्दा पहिले कुन चरा कराउँदो रहेछ थाहा पाउनु पर्यो ।” आज कक्षामा सबैलाई यो प्रश्न सोध्नुपर्छ भन्दै म कुरेर बसिरहेँ तर पनि कुनै चराको आवाज सुनिएन ।बरु “ए !दिदी आँप कति टिप्यौ ,मैले त झोलाभरि ल्याएँ ।” बहिनी हतारिँदै आइपुग्दा म झसङ्ग भएँ। “ए… नानी! ए..! नानी छिटो घर फर्क ।” आमाले डोवाबाट अकस्मात बोलाएको सुनेर छक्क पर्दै हामी घरतर्फ उकालियौँ। हामीलाई देखेर बा र आमा यति खुसी हुनुभयो, मानौँ हामी वर्षौं हराएर आजै घर फिरेका हौँ। आमाले हाम्रो कपाल मुसार्दै भन्नुभयो, हेर त ! छोरी हो ! बाले भनेर पो थाहा पाएँ, बल्ल रातको एक बजेको रहेछ । आज पनि बादलले मलाई नराम्रोसँग झुक्कायो.. ।” केही दिनअघि मात्रै वन चर्न गएका बाख्राहरू चितुवाले खाइदिएको घटना सम्झिँदै र कता कता डरको आभाससँगै हामी अगेनु डिलको मूली चौकामा आमाको छेउछाउमा सुत्यौँ। बिहान बिउँझिँदा बहिनीलाई नदेखेपछि मैले सोधेँ, “आमा ! बहिनी खै त ?” आमाको उत्तर थियो, ” ऊ त अघि नै गइसकी आँप टिप्न …।”





