बसाईसराई


कल्पना मरासिनी
भूमिकास्थान अर्घाखाँची,हाल:ललितपुर

“मालचरीहरू कहिले फर्केर आउलान् है ! मलाई त न्यास्रो लागिसक्यो।” डाँफेले उदास हुँदै मुनालसँग भन्यो। हुन पनि अचेल सुनसान हिमाली भेगको सोराही जङ्गल साँच्चिकै विरक्त लाग्दो बनेको थियो। “आहा ! मालचरीहरू कति भाग्यमानी ! देशविदेश चहार्दै नयाँ नयाँ ठाउँ देख्न पाउने, नयाँ खाना, नयाँ वातावरणमा रम्न पाउने ।” यो सुनेर मुनालले भन्यो, “देख्न जति रमाइलो छ नि, भोग्न उति गाह्रो ! बिचराहरु नौलो ठाउँमा कसरी दिन बिताइरहेका होलान् ? त्यहाँका रैथाने चराहरुसँग कसरी मिलेर बसेका होलान् ? अण्डा कोरल्न, बचेरा हुर्काउन कम्ता सकस पर्दो होला र !” बिहानीको चिसो सिरेटोमा नाङ्गो रुखको हाँगामा बसेर डाँफे र मुनाल गफिँदै थिए। यत्तिकैमा दक्षिणी आकाशबाट एक हुल मालचरीहरु कराउँदै हिमालयतिरै आइरहेको देखेर डाँफे र मुनालको अनुहारमा एकाएक गुलाबहरू फक्रिए । जब मालचरीहरू आफू नजिकै ओर्लिए, मुनालले अचम्भित हुँदै सोधिहाल्यो, “जाने बेला त तिमीहरु धेरै संख्यामा गएका थियौ। तर फर्किँदा किन यति थोरै ?” मालचरी मध्यको एकले अँध्यारो अनुहार लगाउँदै भन्यो, “हामीले कुसाइतमा यात्रा थालेका रहेछौँ र त यसपालि तेत्तिका धेरै साथीहरूलाई पापी सिकारीहरूले जालमा पारिरहँदा हामीले असहाय भएर हेरिरहनु शिवाय केही गर्न सकेनौँ….।”