बा,को फाटेको जुत्ता र मेरो शिक्षा

जगत वत्स

बाले आफ्नो पुरानो फाटेको जुत्ता हातमा लिएर नजिकैको बजारतिर लाग्नुभयो। म उहाँको पछिपछि लागेँ। बजार पुगेर बाले जुत्ता मर्मत गर्ने सँग लगेर जुत्ता देखाउनुभयो।
“दाइ, यसलाई ठीक पार्नुस्,” बाले भन्नुभयो।
“यो त धेरै पुरानो छ, मर्मत गर्दा पनि धेरै टिक्दैन होला,” मर्मत गर्नेले भन्यो।
“मलाई थाहा छ, तर हाललाई यस्तै ठीक छ,” बाले बिनम्रताका साथ भन्नुभयो।
जुत्ता मर्मत हुन लागेको बेला मैले बालाई सोधेँ, “बा, तपाईँ नयाँ जुत्ता किन नकिन्नुहुने ? किन यो फाटेको जुत्ता मर्मत गर्दै हुनुहुन्छ ?”
बाले मुस्कुराउँदै भन्नुभयो, “बाबु, अहिले हाम्रो अवस्था राम्रो छैन। मेरो फाटेको जुत्ता मर्मत गरे पनि तिमीलाई राम्रो शिक्षा दिन सकूँ भनेर यो खर्च बचाउनुपर्छ।”
बाको जवाफले मेरो मनमा गहिरो प्रभाव पार्यो। मैले बाको जुत्ता हेरेर सोचेँ, यी फाटेका जुत्ता मर्मत गरेर बचाएको पैसाले म पढ्न पाउँछु। बाले आफ्ना साना-ठूला आवश्यकता त्यागेर मलाई शिक्षित बनाउन चाहनुहुन्छ।
त्यस दिनदेखि मैले पढाइमा अझ धेरै मन लगाउन थालेँ। बाको त्यागको मूल्य मैले राम्रो शिक्षा प्राप्त गरेर चुकाउनुपर्छ भन्ने दृढ संकल्प मेरो मनमा बस्यो। समय बित्दै गयो, म राम्रो विद्यार्थी बनेँ, र उच्च शिक्षा प्राप्त गरेपछि राम्रो जागिर पाएँ।
एक दिन, म नयाँ जुत्ताको जोडी लिएर बाको अगाडि पुगेँ। “बा, तपाईँको फाटेको जुत्ताको कारण म यहाँसम्म पुगेको हुँ। यो नयाँ जुत्ता तपाईँको लागि,” मैले बालाई भन्न सकेँ।
बाले जुत्ता लिँदै आँशु पुछ्नुभयो र म मुस्कुराउँदै भन्नुभयो, “तिमीले प्राप्त गरेको शिक्षा नै मेरो लागि सबैभन्दा ठूलो उपहार हो।”