बाल सरोकार

लोकेन्द्र शाक्य
नेपालमा प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइन्छ। बालबालिकाको हक, अधिकार, सुरक्षा र सहभागिताबारे चेतना जगाउन हरेक वर्ष फरक–फरक नारा तय गरिन्छ तर प्रश्न उठ्छ—के ती नारा केवल ‘औपचारिकता’का लागि मात्र हुन्, वा तिनले समाजमा वास्तविक परिवर्तन ल्याइरहेका छन्?
आज विडम्बना के छ भने बाल दिवसका नारा प्रायः ब्यानर, पोस्टर र औपचारिक कार्यक्रममा मात्र सीमित हुनेगरेको पाइन्छ। विद्यालयदेखि सरकारी निकायसम्म बाल दिवस मनाइए पनि, त्यसको मूल सारलाई व्यवहारमा उतार्न कमै मात्र सफल हुन्छ। कतिपय गैरसरकारी संस्थाहरूले त बाल दिवसलाई आफ्नो प्रचार–प्रसारको अवसरका रूपमा प्रयोग गर्ने गरेका छन्। यसरी हेर्दा नाराहरू ‘बिक्रीयोग्य शब्द’ जस्तै देखिन्छन्—फोटो खिच्न र समाचार बनाउन प्रयोग हुने।
तर, बाल दिवसका नाराहरू कागजमै सीमित हुनु हाम्रो सामूहिक कमजोरी हो।
अझै पनि ग्रामीण क्षेत्रमा बालबालिका शिक्षा, स्वास्थ्य र पोषणको न्यून पहुँचमा छन्। बाल श्रम, बालविवाह, हिंसा र दुर्व्यवहारजस्ता समस्या यथावत् छन्। बालमैत्री शासन र कार्यक्रमहरू पर्याप्त रूपमा कार्यान्वयनमा आएका छैनन्।
अब के गर्न सकिन्छ?
बाल दिवसलाई मात्र औपचारिकता होइन, व्यावहारिक परिवर्तनको दिन बनाउन जरुरी छ।
नारा बनाउने मात्र होइन, त्यसको कार्यान्वयन र मूल्याङ्कन गर्ने व्यवस्था आवश्यक छ।
विद्यालय, समुदाय र परिवारमा बाल अधिकारलाई प्राथमिकताका साथ लागू गर्नुपर्छ।
बालबालिकालाई सहभागी गराएर उनीहरूको आवाजलाई मुख्य स्थान दिनुपर्छ।
यदि हामीले बाल दिवसका नारालाई जीवन्त बनाउन सक्यौँ भने मात्र ती नारा ‘विक्रीमा’ नभई, बालबालिकाको अधिकार सुनिश्चित गर्ने समाज रूपान्तरणको ऊर्जा बन्न सक्छन्।





