खेमराज आचार्य
चितवन
केही महिना मात्र अगाडिको कुरा हो । म चिया पिउँदै थिएँ । आमा-छोरी किचनमा तरकारी केलाउँदै थिए । उनीहरुको बिचमा कुराकानी चल्दै थियो । कुराकानीकै क्रममा छोरीले म त पछि गएर असल Teacher हुने हो भनिन् । अनि मलाई उत्सुकता जाग्यो र प्रश्न गरे किन नि छोरी ? असल भएपछि त जे बने नि हुन्छ नि ! जबाफमा उनले भनिन् असल शिक्षकले मात्र असल विद्यार्थी बनाउन सक्छ । त्यही विद्यार्थीहरु त पछि डाक्टर, इन्जिनियर यस्तै यस्तै….बन्ने हुन् ।मलाई उनको वाक्य “असल शिक्षकले मात्र असल विद्यार्थी र बनाउन सक्छ” ले भित्रैदेखि छोयो अनि यसैको वरिपरि बसेर यो रचना तयार गरेँ बल्ल आज । शब्दमात्र मेरो हो, भावको श्रेय चाहिँ छोरी आभालाई नै…..। रचनाले उनीप्रति कति न्याय गर्न सक्यो त्यो तपाईंहरुको जिम्मामा ….।
कविता
बाबा !
म ठूलो भए पछि
एउटा असल न्यायाधीश बनोस्
भन्ने चाहनु हुन्छ
सायद बर्तमान न्याय प्रणाली प्रति
उहाँको चरम वितृष्णा हुनुपर्छ।
आमा !
म ठूलो भएपछि
एउटा असल डक्टर बनोस्
भन्ने चाहनु हुन्छ
पैसा नभएर उपचारको अभावमा
मर्न बाध्य भएको दृष्यले
हरेक दिन चिथोरी रहेको
हुनु पर्छ उहाँलाई।
अंकल !
म ठूलो भए पछि
एउटा असल लेखक बनोस्
भन्ने चाहनु हुन्छ
सामाजिक विकृति/विसङ्गती
भ्रष्टाचार र अनियमितता देखेर
आजित भएको हुनुपर्छ उहाँ।
यस्तै यस्तै…
मेरा धेरै आफन्तहरू
यो बन्दिए हुन्थ्यो
त्यो बन्दिए हुन्थ्यो भन्नुहुन्छ
यो उहाँहरुको म प्रतिको
माया हो, अपनत्व हो
तर ‘म’ के बन्ने भन्ने कुरा
तेरो इच्छा र चाहना के छ भनेर
कसैले सोध्न चाहनु हुन्न।
मलाई
एउटा असल शिक्षक बन्न मन छ
शिक्षक असल बन्न नसक्दा
विध्यार्थी असल बन्न सक्दैनन
बिध्यार्थी असल बनेनन् भने,
बाबा ! तपाईंले भनेझैं
न्यायाधीश कसरी असल बन्छ ?
न्यायाधीश नै असल नबनेपछी
न्यायालय कसरी चुस्त दुरुस्त हुन्छ?
आमा ! तपाईंले भनेझैं
डक्टर कसरी असल बन्छ?
डक्टर नै असल बनेन भने
स्वास्थ्य क्षेत्रमा कसरी परिवर्तन आउँछ?
अंकल तपाईंले भनेझैं
लेखक कसरी असल बन्छ?
लेखक नै असल बनेन भने
बेथिति र जनजिविकाका सवालहरु
कसरी उठन सक्छन र?
यसरी नै….
इन्जिनियर कसरी असल बन्छ?
पत्रकार कसरी असल बन्छ?
सिए कसरी असल बन्छ?
प्रशासक कसरी असल बन्छ?
नेता त झन कसरी असल बन्न सक्छ र !
यस्तै यस्तै…..
थुप्रै थुप्रै टाउकाहरु
कसरी असल बन्न सक्छन् र!
प्रिय अभिभावकहरु
जवर्जस्ती केही बनाउने कोसिसले
केही नबन्न पनि त सक्छ!
मेरो विचारमा
जबसम्म शिक्षक असल हुदैनन
तबसम्म केही/कोहि असल बन्दैनन
त्यसैले,
मलाई शिक्षक हुनुछ
एउटा असल शिक्षक बन्नुछ
असल शिक्षकमात्र
असल शिक्षाविद बन्नसक्छ
असल शिक्षाविदले मात्र
असल नीति बनाउन सक्छ
असल नितिले मात्र सबै उत्पादनहरु
असल असल बनाउने छ।





