
निमा छिरिङ भोटिया
जलढाका कालेबुङ, भारत
आज यो हरियो दह सुनसान भएको देखेर बुढो माछा छक्क पर्दै दहको कुरमा पसेर आफ्नो स्वास्नीलाई प्रश्न गर्छ “हन ए बुढी ! आज किन होहल्ला छैन त ? सबै शान्त छन् कि कतै सबै बसाइँ सर्न लागे कि कसो ?” आफ्नो बुढो निक्कै बुढो भएको साथै कान पनि धेरै कम सुन्ने हुनाले बुढोको नजिकै आएर बुढी बोल्छे “तिमीलाई थाहा छैन। यो दहमा मान्छेहरूले सधैँ त बल्छी,जाल हानेर हाम्रो सन्तानलाई मार्थे भने अब त झन यो दहमा करेन्ट लगाएर सबैलाई मार्ने प्रयास गर्दैछन् रे ! यसैले अब हामी सबैले जुलुस लगाउँदै अर्को दहमा जानुपर्छ भन्ने सरसल्लाह गर्नको लागि माथिल्लो सानो दहमा गुप्तरूपले भेला भइरहेको छन्।”
आफ्नो बुढीबाट यो सभ्य र विवेकशील प्राणी भन्ने मान्छेहरूको यस्तो बुद्धि भ्रष्ट योजना सुनेर निक्कै भावुक बन्दै भन्छ “न हामीले कसैको केही बिगारेको छौंँ। न कसैसँग हाम्रो कुनै दुश्मनी नै गरेर हाम्रो जिवीका चलाइरहेका छौँ। हामी त खोला नालाको सुन्दरता साथै परिवेशको सन्तुलन बनाइराख्नको लागि लागिरहेको छौँ।उनीहरू भने चैँ हामीलाई यसरी नाश गरेर परिवेशलाई सर्वनाश गर्नमा लागिपरेका छन्। हे भगवान्! यो विवेकशील प्राणी भन्ने मान्छेहरूको बुद्धि कहिले पलाउने ?”
बुढी पनि आफ्नो बुढोको यस्तो ओजनदार कुरा सुनेर अझै आफ्नो पनि कुरा यसरी थप्छे “यो सबैभन्दा विवेकशील प्राणी भन्ने मान्छेहरूको बुद्धि चैँ सायद गाई भैँसी जस्तै सिङ्ग पलायो भने मात्र आउँछ होला। भो तिमी पनि छिटो जाऊँ। त्यो गुप्त सभामा कहिलेदेखि जुलुसमा जानु पर्ने हो। यसो बुझेर आऊँ।”





