मेरो देश नेपालका नाममा एउटा प्रार्थना…

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना !

हिमालको शिर सधैँ गर्वले उचो रहोस्,
पहाडका पाखाहरूमा समृद्धिका फूल फुलून्,
तराईका फाँटहरूमा सुनौला सपनाहरू झुलून्।
मेचीदेखि महाकालीसम्म माया, सद्भाव र एकताको उज्यालो फैलियोस्।

यो माटोमा अब आँसु होइन, आशा उम्रियोस्,
हरेक घरमा अभाव होइन, समृद्धि भित्रियोस्।
युवाका आँखामा विदेशिनुपर्ने बाध्यता होइन,
आफ्नै देशमा भविष्य कोर्ने सपना सजियोस्।

जात, भाषा, धर्म र भूगोलभन्दा माथि उठेर
हरेक नेपालीको मनमा नेपालीपन फुलिरहोस्।
अन्यायका अँध्यारा हटून्, सुशासनका दीप बलून्,
देशको मुहारमा विकास र समृद्धि अक्षता र जमरा झैँ चम्किउन।

हे माता दुर्गा भवानी!
मेरो देशको माटोमा शान्तिको सुवास छरिदिनू,
नेपालीका हातमा श्रमको सम्मान भरिदिनू,
हरेक आमाको मुहारमा निश्चिन्त मुस्कान सजाइदिनू,
र मेरो प्यारो नेपाललाई संसारकै सुन्दर भविष्यतर्फ अघि बढाइदिनू।