
रम्भा पौडेल
शैक्षिक भ्रमणको समय थियो । विद्यार्थीहरुले शैक्षिक भ्रमणको समय कुरेर बसेका थिए । दिनदिनै भित्तामा राखिएको शैक्षिक क्यालेण्डर हेरिरहेका विद्यार्थीले गुरुआमालाई केही भन्न सकेका थिएनन् । कक्षाको हाजिरी सकिएपछि सुमनाले आँट गरेर भनिन, “ मिस हामीलाई भ्रमण कहिले लैजाने ? यो महिना त शैक्षिक भ्रमणको महिना हो । हामीलाई शैक्षिक भ्रमण छिट्टै लैजान पर्यो ।”
सुमनाको कुरामा सबैले होमा हो मिलाए । “मिस शैक्षिक भ्रमण, शैक्षिक भ्रमण” भनेर कक्षामा हल्ला गर्न थाले। गुरुआमाले “किप साइलेन्स” भनेर हल्ला बन्द गराउनु भयो र भन्नु भयो, “तिमीहरुले भनेको कुरा ठिक हो । भ्रमण पनि हाम्रो पढाइ हो । पढेको भन्दा देखेर जानेको कुरा दिगो हुन्छ । शैक्षिक भ्रमणको बेला भएको छ । तिमीहरुलाई मैले भन्नेवाला नै थिएँ तर तिमीहरुले नै कुरा राख्यौ । ल भन यसपाली हामी कहाँ जाने?” सबैले एकै स्वरमा भने–“घान्द्रुक भिलेज।”
गुरुआमाले भ्रमणको योजना बनाउनुभयो । भ्रमणमा जाँदा चाहिने सामग्री र जाँदा लाग्ने खर्चको योजना बनाएर अभिभावकलाई चिठी पठाउनु भयो । विद्यार्थीहरू भ्रमणका लागि तयार भए । तीनदिन पछि उनीहरु पोखरा हुदै घान्दु्रक गाउँतर्फ लागे । पोखराबाट तीन घण्टा बसमा हिँडेपछि उनीहरू घान्द्रुक गाउँ पुगे । घान्द्रुक गाउँमा यहाँहरुलाई हार्दिक स्वागत छ भनेर लेखिएको स्वागत द्वार देखेपछि सबैले चिच्याएर भने–“घान्द्रुक गाउँ आयो, घान्दु्रक गाउँ आयो !”
गुरुआमाले “किप साइलेन्स” भन्दै सबैलाई शान्त बनाउनु भयो र भन्नुभयो– “हामी आज चार–चारजना भएर यहाँका घरमा बस्नेछौँ । यहाँ पाहुनाहरुलाई यसैगरी राख्ने चलन छ । कुनै घरले धेरै जना पाहुन राख्न सक्छन्, कुनैले थोरै । तिमीहरुले आ–आफ्नो समूह मिलाउ । चार–पाँच जनाको समूहमिलाउ । हामी बाँडिएर बस्नेछौँ । यसरी बस्ने बसाइलाई ‘होम स्टे’भनिन्छ । तिमीहरुले बस्ने घरमा जे पकाएर दिन्छन् त्यही खानु पर्छ । यहाँ आफ्नै बारीमा फलेका तरकारी, फलफूल र अन्न घरमा पालेका कुखुरा, खसीको मासु खान दिने चलन छ । यसलाई ‘इको टुरिजम’ पनि भनिन्छ । गाउँको उत्पादन बेच्न शहर जानु पर्दैन, गाउँमै खपत हुन्छ । घरहरु सफासग्ुघर छन् । बाटो हेर त कति राम्रा छन् । सबैतिर ढुुंगा बिछाइएका छन् । घरहरु मौलिक नेपाली शैलीमा बनेका छन् ।कोठाहरु पनि चिटिक्क छन् । तिमीहरु त्यहाँ बस्दा कुनै डर हुँदैन । आफ्नै घरजस्तै गरेर बस्न सक्छौ हुन्छ कि हुदैन ?”
सबैले एकै सोरमा‘हुन्छ’भने र आ–आफ्नो समूह बनाए।
“भोलि बिहान ५.३० बजे माथिको खुला चौरमा सबै जना उपस्थित हुनु । त्यहाँबाट सुर्याेदय हेर्न सकिन्छ । अहिले तिमीहरु आ–आफनो घरतर्फ लाग।गुरुआमाले भन्नुभयो । सबैजना आ–आफ्नो घरतर्फ लागे।
“तिमीहरुलाई उहाँ गाइड गर्ने दाजुले लैजानुहुनेछ ।” गुरुआमाले भन्नुभयो।
घरमा घरबेटीआमाले पकाएको स्थानीय स्वादका खाना खाएर बिद्यार्थीहरु रमाए । उनीहरले फरक–फरक घरमा बसेका साथिहरुलाई भेटे । गुरुङ समाजको मौलिक पहिरन लगाएर थरिथरिका तस्विर पनि खिचे । उनीहरुले बनाएको संग्रहालय पनि हेरे । आनन्दले गाउको चिसो र स्वच्छ हावामा रमाउँदै उनीहरुले एक रात होमस्टेमा बिताए । भोलि बिहान मिसको निर्देशन अनुसार तयार भएर खुला चउरमा जम्मा भएर सूर्य उदाएको हेर्न पर्खेर बसे । बिस्तारै पूर्वतिर अन्नपूर्ण र माछापुच्छ्रे हिमाल नाकै छोलाजस्तो गरेर खुलेर अगाडि आयो । सबैले एकै स्वरमा ‘आहा आहा हिमाल देखियो’ भनेर खुसी व्यक्त गरे।
सबैले हिमाललाई शिरमा राखेर फोटो खिचे । बिस्तारै सूर्याेदय भयो । रातो सूर्यको उदयले सबैमा हर्सोल्लास भयो ।
बिस्तारै अन्न्पुर्ण र माछापुच्छ्रे सुनौलो रंगमा परिर्वतन भए । खुलाचौरमा सबैले फोटो खिचेर ‘आहा घान्द्रुक भनेर सामाजिक सञ्जालमा राख्न पनि पनि भ्याए । कसैले मिससंग जोडिएर तस्विर खिचे । कसैले आफ्नो मिल्ने साथीसंग फोटो खिचे । केही समयपछि होमस्टेमा सबैजना फर्के । घरबेटी आमाले चिया,कोदोको सेल र तरकारीको खाजा खुवाउनु भयो र माला र टिका लगाएर सबैलाई बिदा गर्नुभयो ।
घानद्रुकका मानिसले पैसा कमाउन विदेश जानु परेको छैन । पैसा आफै घरमै आएको कुरा विद्यार्थीहरुले बुझे । बास बस्दा र खाँदा लागेको पैसा उनीहरुले घरबेटीलाई दिएका थिए तर धेरै महँगो भने थिएन ।
पैसा त घरमा राख्नेले मात्र कहाँ कमाएका छन् र ? कुखुरास, खसि पाल्नेले पनि कमाएका छन् । तरकारी उत्पादन गर्नेले पनि कमाउँछन् । लुगा बनाउने पनि कमाएका छन् । फलफूल उत्पादन गर्नेले पनि कमाएका छन् । गाडि चालकले कमाउँछन् । यसरी धेरै मानिसलाई यो गाउँले रोजगारी दिएको कुरा उनीहरुले बिस्तारै बुझे।
आफ्नै घरमा पाहुनालाई स्वागत गरेर पैसा आर्जन गरेको देखेर बिद्यार्थीहरु छक्क परे।
“पहिले हाम्रो हजुरबाको पालामा पाहुनाले खाएको पैसा लिने चलन त कहाँ थियो र ? अहिले यो पेसा बन्यो । समय अनुसार सबैकुरा बदलिन्छ नि ।” सुमनाले साथीलाई भनिन्,“विदेश नै जानु किन प¥यो र ? मैले पनि मेरै घरलाई सजाउछु । मेरो पहाडको घर खाली छ ।”
“मेरो पनि हजुरबाले बनाएको घर पहाडमा खाली छ ।” समुहमा उनीहरुले कुरा गरे–“हाम्रा कति गाउँहरु खाली छन्। तिनलाई अब पर्यटक बस्ने बनाउनु पर्छ।”
सबैले “हो हो” भन्दै सही थपे ।
घान्द्रुकको माँया र रमाइलो दृश्यलाई मनभरि कैद गरेर सबैजना भोलिको कक्षा भेटाउन काठमाण्डौतर्फ लागे । गुरुआमाले घान्द्रुक यात्राको रिपोर्ट लेखेर ल्याउन गृहकार्य दिनुभयो ।





