
घनश्याम रेग्मी
गुराँस लाल रङ्गका फुले सजाइयो धरा
छ अन्न खेत फाँटमा जताततै हराभरा
चिसो र शीत कोप ता हराउँदै उता गयो
समीपमै वसन्तको बहार आउने भयो।।
अगाडि पौष माघमा कहाँ थिए चराहरू
रुखा सुखा र अस्थि झैँ थिए मुना जराहरू
नयाँ मुना र पालुवा छिटो पलाउने भयो
समीपमै वसन्तको बहार आउने भयो।।
न घाम तापका थिए पहारले तताउन
न तोय हातमा लिई शरीरमा अचाउन
कटक्क हात कक्रिने पला हराउँदै गयो
समीपमै वसन्तको बहार आउने भयो।।
थिए खुसी कता लुकी फिरे समस्त वापस
रमाउँछन् सबै जना घसेर फागु आपस
घमाइला दिवा फिरे प्रकोप टाढिँदै गयो
समीपमै वसन्तको बहार आउने भयो।।
नवान्न झुल्छ खेतमा नयाँ भरेर सौरभ
पराग फूल रागले बढाउँदो छ गौरव
जताततै खुसी फुलोस् मभित्र चाहना छ यो
समीपमै वसन्तको बहार आउने भयो।।





